वीरगंज । भारतको महाराष्ट्रस्थित पुणे नजिक रहेको लोहागढ किल्लामा ट्रेकिङका क्रममा खसेर मृत्यु भएका भनिएका युवा व्यवसायी केतन अग्रवालको घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक रूपमा दुर्घटना मानिएको घटनालाई प्रहरीले योजनाबद्ध हत्या ठहर गर्दै मृतककी मंगेतर सिया गोयल र उनका कथित प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २६ वर्षीय केतन जुन १८ मा सिया गोयलसँग लोहागढ किल्ला घुम्न गएका बेला करिब ३००–४०० फिट गहिरो खोंचमा खसेका थिए। घटनापछि यसलाई सामान्य दुर्घटना मानिए पनि अनुसन्धानका क्रममा हत्या गरिएको आशंका बलियो बनेको थियो।
अनुसन्धानबाट सिया र चेतनबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको तथा केतन उनीहरूको सम्बन्ध र भविष्यको योजनामा बाधक बनेपछि हटाउने योजना बनाइएको खुलेको प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार परिवारको इच्छाअनुसार सियाको विवाह केतनसँग तय गरिएको थियो, जसप्रति उनी असन्तुष्ट थिइन्।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा यो हत्या एकै दिनको योजना नभएको निष्कर्ष निकालेको छ। यसअघि मे ३१ मा पनि लोहागढ किल्लामै केतनलाई धकेल्ने प्रयास भएको दाबी गरिएको छ। त्यतिबेला सियाले ‘सर्प देखिएपछि बचाउन खोज्दा घटना भएको’ भन्दै विषयलाई सामान्य बनाएकी थिइन्।
घटनापछि सियाको बयान र घटनास्थलका विवरणबीच असंगति देखिएपछि प्रहरीले सीसीटीभी फुटेज, मोबाइल फोनको कल रेकर्ड तथा डिजिटल प्रमाणहरूको विश्लेषण गरेको थियो। त्यसक्रममा किल्ला क्षेत्रमा हुडी लगाएर घुमिरहेको एक व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान अगाडि बढेको थियो। पछि उक्त व्यक्ति चेतन चौधरी भएको खुलेको बताइएको छ।
अनुसन्धानमा सिया र चेतनबीच हजारौँ पटक फोन सम्पर्क भएको तथा उनीहरूको सम्बन्ध पुष्टि गर्ने विभिन्न प्रमाण फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले दुवै जनाविरुद्ध हत्या र आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।
पुणेको चर्चित रियल इस्टेट व्यवसायिक परिवारसँग सम्बन्धित केतन अग्रवालको विवाह आगामी नोभेम्बरमा हुने तय भएको थियो। ‘ट्रेकिङ दुर्घटना’ का रूपमा सार्वजनिक भएको घटनाले अहिले भारतभर व्यापक चर्चा र चासोको विषय बनेको छ।


