Categories विदेश

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, संकटकाल घोषणा

वीरगंज । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा ३९ सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प जाँदा व्यापक क्षति भएको छ। ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पपछि सरकारले देशभर संकटकाल घोषणा गरेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी कराकास नजिक रहेको थियो। भूकम्पपछि २० भन्दा बढी परकम्प महसुस गरिएका छन्, जसका कारण राजधानीसहित प्रभावित क्षेत्रमा त्रास फैलिएको छ। मानिसहरू घरबाट बाहिर निस्किएर खुला स्थानमा आश्रय लिन बाध्य भएका छन्।

Advertisement

भूकम्पका कारण कराकासको अल्तामिरा क्षेत्रमा रहेको २२ तले भवन पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म मानवीय क्षतिको यकिन विवरण सार्वजनिक नभए पनि घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

Advertisement

विपत्तिपछि सरकारले मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ। विमानस्थलको संरचनामा क्षति पुगेपछि सबै उडान स्थगित गरिएको अधिकारीहरूले जनाएका छन्। सम्भावित थप दुर्घटना रोक्न प्रभावित क्षेत्रमा ग्यास आपूर्ति समेत बन्द गरिएको छ।

आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले केही मानिस घाइते भएको र विभिन्न भवनमा क्षति पुगेको पुष्टि गरेका छन्। उद्धारकर्मी, सेना र स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने सरकारद्वारा राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ।

अधिकारीहरूले परकम्प जारी रहन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *