वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न स्थानमा सञ्चालन गरेको सीमा निगरानी तथा विशेष अभियानका क्रममा कुल रु. १७ लाख ८५ हजार १७० बराबरका अवैध सामान, एक जना व्यक्ति तथा ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको जनाएको छ।
गणका अनुसार वीरगञ्ज महानगरपालिका–१ छपकैया क्षेत्रमा भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको रु. १ लाख ९ हजार ८२० बराबरको कपडा र रु. ४ लाख मूल्यको ई–रिक्सा बरामद गरी वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको छ।
यस्तै, वीरगञ्ज–१६ स्थित एन्जी गेटबाट भारततर्फ लैजान लागिएको ई–रिक्सा, टाँगा, घोडा तथा स्याउ गरी रु. ५ लाख ८० हजार ९ सय बराबरको सामान बरामद गरिएको छ।
बिन्दबासिनी गाउँपालिका–४ मधवल क्षेत्रमा अवैध रूपमा स्याउ भारततर्फ लैजाँदै गरेका भारत घर भएका २३ वर्षीय अश्लाम आलमलाई रु. १६ हजार ३५० बराबरको स्याउसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, भिखमपुर र वीरगञ्ज बसपार्क क्षेत्रमा गरिएको कारबाहीमा रु. ८६ हजार ९ सय बराबरको प्रिन्टर, कपडा र मदिरा बरामद गरिएको छ।
यसअघि असार १० गते मितेरी पुलबाट बरामद गरिएको रु. ४ लाख ८ हजार ५ सय बराबरको ई–रिक्सा, स्याउ र टेन्टको कपडा पनि असार ११ गते वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, विशेष सूचनाको आधारमा वीरगञ्ज–१ सुकुम्बासी टोलस्थित ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा संयुक्त टोलीले छापा मार्दा रु. १ लाख ८२ हजार ७ सय बराबरको चार पोका कपडा बरामद गरिएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया जारी रहेको जनाइएको छ।
सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।


