काठमाडौं । नदी किनाराका बस्तीबाट विस्थापित सुकुम्वासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप सात दिनको समय दिइएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसअघि असार १२ गतेसम्म तोकिएको समयसीमा बढाएर असार १९ गतेसम्म पुर्याएको हो। घर भाडामा बस्नका लागि पर्याप्त समय नभएको गुनासो आएपछि समितिले म्याद थप्ने निर्णय गरेको जनाएको छ।
समितिले भाडा व्यवस्थापनका लागि उपलब्ध गराइने आर्थिक सहायता प्राप्त गर्न इच्छुक सुकुम्वासीहरूलाई असार १५ गतेभित्र निवेदन दिन आग्रह गरेको छ। सरकारको निर्णयअनुसार कोठा व्यवस्थापनका लागि पहिलो किस्तास्वरूप २५ हजार रुपैयाँ तथा त्यसपछि तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
यता, होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूले उचित वैकल्पिक व्यवस्थापन नभएसम्म केन्द्र खाली नगर्ने अडान लिएका छन्। जबरजस्ती हटाउने प्रयास भए आफूहरू पुनः पुरानै स्थानमा फर्किने उनीहरूको चेतावनी छ।
गत वैशाखमा नदी किनाराका बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका सुकुम्वासीहरूलाई हाल काठमाडौं, भक्तपुर र काभ्रेका होल्डिङ सेन्टरमा राखिएको छ।


