वीरगंज । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा सञ्चालित लिखित परीक्षामा अनियमितता तथा आर्थिक चलखेल भएको आरोप लगाउँदै ‘जेन–जी युथ अफ बारा’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायमा उजुरी दिएको छ।
संस्थाका अध्यक्ष सौरभ पाण्डेको हस्ताक्षर रहेको उजुरीमा गत जेठ २४ र २५ गते सञ्चालन भएको परीक्षामा पदपूर्ति समितिका संयोजक डा. भगवान मिश्रले केही उम्मेदवारलाई उत्तीर्ण गराइदिने आश्वासन दिँदै करिब ३० लाख रुपैयाँ असुलेको आरोप लगाइएको छ।
उजुरीमा संयोजक डा. मिश्रले उम्मेदवार राजु जयसवालसँग होटलमा भेटघाट गरेको तथा वीरगञ्जस्थित एक न्यूरो अस्पतालमा पुगेर प्रश्नपत्रको गोपनीयता भंग गरेको दाबी पनि गरिएको छ। यद्यपि, यी आरोपहरू सम्बन्धित निकायबाट पुष्टि भइसकेका छैनन्।
‘जेन–जी युथ अफ बारा’ले घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र समिति गठन गर्न, आरोपितको फोन कल विवरण र आर्थिक कारोबारको अनुसन्धान गर्न तथा छानबिन सम्पन्न नभएसम्म उनलाई जिम्मेवारीबाट अलग राख्न माग गरेको छ। साथै, छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषी ठहरिए कानुनबमोजिम कडा कारबाही गर्न पनि आग्रह गरिएको छ।
परीक्षा प्रणाली र स्वास्थ्य क्षेत्रप्रतिको जनविश्वासमा गम्भीर असर पर्ने विषय भएकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय (जनकपुर), जिल्ला प्रशासन कार्यालय बारा लगायत पाँचवटा निकायमा बोधार्थसहित उजुरी दर्ता गरिएको संस्थाले जनाएको छ।




