वीरगञ्ज । डेंगी, जापानीज इन्सेफ्लाइटिस (जेई) लगायत किटजन्य रोगको जोखिम बढ्न थालेपछि वीरगञ्ज महानगरपालिका–९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडाभरि सचेतनामूलक अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरूले नागरिकलाई सचेतनामूलक पम्प्लेट वितरण गर्दै लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने, पानी जम्न नदिने तथा वातावरण सफा राख्न आग्रह गरेका छन्।
साथै डेंगी र जेईबाट बच्न झुल लगाएर सुत्ने, लामो बाहुलाको लुगा लगाउने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अकलेश गिरीका अनुसार नागरिकमा किटजन्य रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वडाभरि पम्प्लेट वितरण गर्दै जानकारीमूलक अभियान सञ्चालन गरिएको हो।
यस अभियानमा वीरगञ्ज महानगरपालिका–९ का वडा सदस्य लालबाबु प्रसाद कलवार पनि सहभागी भई नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। ।अभियान वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको समन्वयमा सञ्चालन भइरहेको छ।


