Categories समाचार

वीरगञ्जमा भायानेटको इन्टरनेट सेवाप्रति सेवाग्राही असन्तुष्ट, ‘गुनासो गर्दा पनि समाधान हुँदैन समस्या’

वीरगञ्ज। वीरगञ्जमा भायानेट कम्युनिकेशनद्वारा जडान गरिएको इन्टरनेट सेवा प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरूले व्यापक असन्तुष्टि जनाएका छन्। इन्टरनेटको गुणस्तर कमजोर हुँदा व्यक्तिगत प्रयोगकर्तासँगै विभिन्न कार्यालय, व्यवसाय तथा संस्थाहरू समेत प्रभावित भएको उनीहरूको गुनासो छ।

सेवाग्राहीहरूका अनुसार नयाँ जडान गरेपछि सुरुका केही दिनमै इन्टरनेटमा समस्या देखिन थाल्ने गरेको छ। अधिकांश स्थानमा एक महिना पनि स्थिर रूपमा सेवा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ। बारम्बार इन्टरनेट डिस्कनेक्ट हुने, गति अत्यन्तै सुस्त हुने तथा राउटरको नजिक बसेर प्रयोग गर्दा समेत सेवा सहज रूपमा नचल्ने समस्या रहेको उनीहरूले बताएका छन्।

Advertisement

वीरगञ्जको गिरजामाई कॉलोनीका एक सेवाग्राहीले राउटरको नजिकै बसेर चलाउँदा पनि इन्टरनेट आफैं डिस्कनेक्ट हुने र काम नै प्रभावित हुने अवस्था रहेको बताए। उनका अनुसार समस्या समाधानका लागि पटक–पटक कम्पनीमा सम्पर्क गर्दा आज आउँछौं, भोलि आउँछौं भन्दै आलटाल गर्ने प्रवृत्ति देखिएको छ।

Advertisement

सेवाग्राहीहरूको आरोप अनुसार बिल तिर्ने समय आउँदा वा अन्य सूचना दिन कम्पनीबाट पटक–पटक फोन आउने गरे पनि सेवा अवरुद्ध भएको जानकारी गराउँदा भने समयमै समाधान नहुने गरेको छ। यसले नियमित शुल्क तिरे पनि गुणस्तरीय सेवा नपाएको उनीहरूको गुनासो छ।

इन्टरनेट सेवा आजको समयमा शिक्षा, व्यवसाय, बैंकिङ तथा सरकारी सेवासँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा बारम्बार हुने अवरोधले दैनिक कामकाज प्रभावित भइरहेको सेवाग्राहीहरू बताउँछन्। उनीहरूले भायानेट कम्युनिकेशनले सेवाको गुणस्तर सुधार गरी गुनासोको छिटो सम्बोधन गर्न र प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *