Categories Uncategorized

सन्त कबीर साहेब : जीवन, दर्शन र मानवताको महान सन्देश

कबीर मेरी सिमरनी रसना ऊपरि रामु॥
 आदि जुगादी सगल भगत ता को सुखु बिस्रामु॥

सन्त कबीर साहेब महान सन्त, समाज सुधारक, कवि तथा आध्यात्मिक चिन्तक हुन्। उहाँले जात,पात, छुवाछुत, धार्मिक अन्धविश्वास, बाह्य आडम्बर र कट्टरताको खुलेर विरोध गर्दै मानवता, प्रेम, सत्य, समानता र परमात्माको नाम-स्मरणलाई जीवनको आधार बनाउन आग्रह गर्नु भयो। उहाँका वाणीहरु आज पनि हिन्दू, मुस्लिम, सिख तथा अन्य धर्मावलम्बीहरु द्वारा समान श्रद्धाका साथ पढिन्छन्। विशेष रुपमा श्री गुरु ग्रन्थ साहेबमा उहाँका करीब ५०० रचना (शब्द र श्लोक) समावेश हुनु उहाँको आध्यात्मिक महानताको प्रमाण हो।

कबीर साहेबको जन्म बारे विभिन्न ऐतिहासिक मत पाइन्छ। धेरै विद्वानका अनुसार उहाँको जन्म सन् १३९८ ई. (वि.सं. १४५५ तिर) वाराणसी (काशी भारत) नजिक लहरतारा क्षेत्रमा भएको मानिन्छ। अर्को मतले जन्म मिति केही फरक बताउँछ। यद्यपि अधिकांश परम्परामा उहाँलाई १५औँ शताब्दीका महान सन्तका रुपमा स्वीकार गरिएको छ। लोक परम्परा अनुसार उहाँलाई एक नवजात शिशुको रुपमा लहरतारा पोखरी नजिक भेटिएको थियो। त्यस पछि एक जुलाहा (बुनकर) दम्पती नीरु र नीमाले उहाँलाई आफ्नै सन्तान सरह पालन-पोषण गरे।
कबीर साहेबले बुनाईको काम गर्दै सामान्य गृहस्थ जीवन बिताउनु भयो। यसैले उहाँले श्रमको सम्मान, इमानदार जीविका र सरल जीवनलाई विशेष महत्त्व दिनु भयो।

Advertisement

कबीर साहेबका आध्यात्मिक गुरुका रुपमा स्वामी रामानन्दजी लाई मानिन्छ। प्रसिद्ध कथाअनुसार कबीर साहेब गङ्गा घाटका भर्याङमा बिहान सुतिरहेका थिए। रामानन्दजीको खुट्टा लाग्दा उहाँको मुखबाट “राम-राम” शब्द निस्कियो। कबीर साहेबले त्यसैलाई गुरुमन्त्र मानेर जीवनभर परमात्माको नामको साधना गर्नुभयो। उहाँका लागि “राम” कुनै जाति वा धर्म विशेषका देवता नभई सम्पूर्ण सृष्टिका एक निराकार परमात्माको प्रतीक थियो।

Advertisement

कबीर साहेबले हिन्दू र मुस्लिम दुवै समाजमा रहेका कुरीति र अन्धविश्वासको निर्भीक रुपमा विरोध गर्नुभयो। उहाँको भनाइ थियो कि परमात्मा मन्दिर वा मस्जिदमा मात्र सीमित हुनुहुन्न; उहाँ त प्रत्येक जीवको हृदयमा हुनुहुन्छ। बाहिरी पुजा, पोशाक वा कर्मकाण्ड भन्दा शुद्ध मन, सत्य आचरण र प्रेमपूर्ण जीवन नै सच्चा धर्म हो। उहाँले भन्नुभयो कि मानिसको महानता उसको जन्मले होइन, कर्म, चरित्र र ईश्वर प्रेमले निर्धारण हुन्छ। यही कारण उहाँका विचार आज पनि सामाजिक समानता र मानव अधिकारका क्षेत्रमा अत्यन्त सान्दर्भिक छन्।

कबीर साहेबको शिक्षाको केन्द्रमा पाँच प्रमुख सिद्धान्त छन्
एक परमात्मामा विश्वास।
नाम-स्मरण (ईश्वरको निरन्तर स्मरण)।
गुरुको महत्त्व।
सत्य, प्रेम र दयाको आचरण।
सबै मानिस समान हुन् भन्ने भावना।

उहाँले काम, क्रोध, लोभ, मोह, अहंकार, कपट र हिंसालाई आध्यात्मिक उन्नतिको सबैभन्दा ठूलो बाधा मान्नुभयो।
श्री गुरु ग्रन्थ साहेबमा कबीर साहेब सिख धर्मका पाँचौँ गुरु, श्री गुरु अर्जन देव जी महाराजले श्री गुरु ग्रन्थ साहेबको सम्पादन गर्दा कबीर साहेबका करीब ५०० शब्द, सलोक तथा पदहरू समावेश गर्नु भयो। यसले देखाउँछ कि कबीर साहेबको आध्यात्मिक अनुभूति सम्पूर्ण मानव जातिका लागि समान रुपमा प्रेरणादायी छ। उहाँका वाणीहरुमा नाम-स्मरण, नम्रता, सत्सङ्ग, गुरुको महिमा र परमात्मा सँगको मिलनको गहिरो सन्देश पाइन्छ।

काशीमा मरे स्वर्ग र मगहरमा (भारतको, उत्तर प्रदेश) मरे नरक जाने अन्धविश्वास प्रचलित थियो। कबीर साहेबले यस भ्रमलाई तोड्न जीवनको अन्तिम समय मगहरमा बिताउनु भयो। उहाँले स्पष्ट सन्देश दिनु भयो कि मुक्ति स्थानले होइन, कर्म र परमात्माको कृपाले प्राप्त हुन्छ। लोक कथा अनुसार उहाँको देहावसान पछि हिन्दू र मुस्लिम अनुयायी बीच अन्त्येष्टिको विषयमा विवाद भयो। जब चादर हटाइयो, त्यहाँ शरीर नभई फुल मात्र भेटिए।

आधा फुल हिन्दूहरुले दाहसंस्कार गरे र आधा मुस्लिमहरुले आफ्नो परम्परा अनुसार गाडे। यो घटनाले उहाँको जीवनभरको सन्देश-मानव एकतालाई अझ बलियो बनायो।

कबीर साहेबका केही प्रसिद्ध श्लोक
१.
कबीर मेरी सिमरनी रसना ऊपरि रामु॥
आदि जुगादी सगल भगत ता को सुखु बिस्रामु॥

अर्थ:- जिब्रोमा सधैं परमात्माको नाम रहोस्। सबै युगका सन्तहरुले यही नाम स्मरणबाट साँचो शान्ति र आनन्द प्राप्त गरेका छन्।
२.
कबीर सभ ते हम बुरे हम तजि भलो सभु कोइ॥
जिनि ऐसा करि बूझिआ मीतु हमारा सोइ॥

अर्थ:-आफूलाई सबैभन्दा सानो र दोषी ठान्ने तथा अरुलाई सम्मान गर्ने व्यक्ति नै सच्चा ज्ञानी र मेरो मित्र हो।
३.
कबीर डगमग किआ करहि कहा डुलावहि जीउ॥
सरब सूख को नाइको राम नाम रसु पीउ॥

अर्थ:- हे मन! संसारमा अल्मलिनु पर्दैन। परमात्माको नाम नै सबै सुखको मूल स्रोत हो।
४.
कबीर चंदन का बिरवा भला बेड़्हिओ ढाक पलास॥
ओइ भी चंदनु होइ रहे बसे जु चंदन पासि॥

अर्थ:- चन्दनको सङ्गतले साधारण रुख पनि सुगन्धित हुन्छन्। त्यसै गरी असल व्यक्तिको सङ्गतले मानिसको जीवन पनि पवित्र बन्छ।
५.
कबीर सोई मारीऐ जिह मूऐ सुखु होइ॥

अर्थ:- मानिसलाई होइन, आफ्नो अहंकार, लोभ, क्रोध, मोह र विकारलाई नष्ट गर; त्यसैले साँचो सुख प्राप्त हुन्छ।

सन्त कबीर साहेब कुनै एक धर्म, जात वा सम्प्रदायका मात्र सन्त हुनुहुन्न; उहाँ सम्पूर्ण मानवताको साझा सम्पत्ति हुनुहुन्छ। उहाँको जीवनले सत्य, प्रेम, समानता, परिश्रम, नम्रता र परमात्माको नाम-स्मरणको मार्ग देखाउँछ। आज पनि जातीय विभेद, धार्मिक कट्टरता र सामाजिक असमानताले ग्रसित समाजमा कबीर साहेबका वाणीहरु उत्तिकै सान्दर्भिक छन्। उहाँको शिक्षा सरल छ “मानवलाई प्रेम गर, सत्य बोल, श्रम गर, गुरुको मार्ग अपनाऊ र परमात्माको नाम सधैं स्मरण गर।” यही सन्देशले उहाँलाई युगौँ सम्म अमर बनाएको छ।

कबीर साहेबको प्रकट दिवसमा साधसंगत जी हरु लाई हार्दिक मंगलमय शुभकामना । उहाँको अनुयायीहरु तथा श्रद्धालुहरु नेपालमा पनि प्रशस्त छन्, विभिन्न स्थानहरुमा कबीर साहेबको आश्रम रहेको छ, समय -समयमा आश्रममा सत्संग, भजन तथा भंडार हुने गर्दछ।

जसपाल सिंह
श्रीपुर, बीरगंज

Leave a Reply

Your email address will not be published. Required fields are marked *