Categories समाचार

असार १६ र १७ गते भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

वीरगंज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी गतिविधि सक्रिय भई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

Advertisement

प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले खोला–नाला, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement

डुबानको जोखिम भएका बस्तीका नागरिकलाई सुरक्षित स्थानको पहिचान गरी आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान, तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा जोखिमयुक्त सडक र राजमार्गमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न तथा जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाको नियमित जानकारी लिन पनि सबैमा आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *