Categories समाचार

भोजपुरी प्रतिष्ठानले मनायो आदिकवि सन्त कबिरको ६२९औँ जन्मजयन्ती

वीरगञ्ज। आदिकवि सन्त कबिरको ६२९औँ जन्मजयन्ती तथा विश्व भोजपुरी दिवसका अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगञ्जको आयोजनामा कवि गोष्ठी तथा व्याख्यान कार्यक्रम सम्पन्न भएको छ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भोजपुरी प्रतिष्ठानका सल्लाहकार तथा भाषा आयोगका निवर्तमान सदस्य महाकवि गोपाल अश्क प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा ध्रुव सिंह ठकुरी, विनोद मेहता र अजमत अली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

Advertisement

उर्मिला गिरी, साविर अन्सारी, अनिशकान्त कुश्वाहालगायत साहित्यकार, भाषाप्रेमी तथा सांस्कृतिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा प्रतिष्ठानका सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

Advertisement

प्रमुख अतिथि महाकवि अश्कले सन्त कबिरका विचार आज पनि समाजका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे। उनले मातृभाषाको संरक्षणसँगै नयाँ पुस्तालाई भोजपुरी भाषा र साहित्यप्रति आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

कवि गोष्ठीमा सहभागी स्रष्टाहरूले कबिरका मानवीय मूल्य, सामाजिक सद्भाव, समानता र सत्यको सन्देश समेटिएका कविता वाचन गरेका थिए। साथै, विश्व भोजपुरी दिवसको अवसरमा भोजपुरी भाषा, साहित्य र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका विषयमा व्याख्यानसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए। सहभागीहरूले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमले भोजपुरी भाषा र साहित्यको विकाससँगै सामाजिक सद्भाव र सांस्कृतिक चेतनाको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *