वीरगञ्ज । ६२९औँ कबीर जयंती तथा विश्व भोजपुरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा भोजपुरी भाषा, साहित्य र पत्रकारितामा योगदान पुर्याएका तीन जना व्यक्तित्वलाई सम्मान गरिएको छ।
भोजपुरी प्रज्ञा प्रतिष्ठान, काठमाडौंको आयोजनामा शंखमूलस्थित भाषा आयोगको कार्यालयमा सम्पन्न कार्यक्रममा २५ हजार रुपैयाँ राशिको लीलाधर स्मृति पुरस्कार भोजपुरी मातृभाषा अभियानी दीपक गुप्तालाई प्रदान गरियो। पुरस्कारका संस्थापक डा. बंशीधर मिश्रले भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई हरेक वर्ष यो सम्मान प्रदान गरिने जानकारी दिए। केही वर्ष रोकिएको यो पुरस्कार यस वर्षदेखि पुनः निरन्तरता दिइएको उनले बताए।
त्यसैगरी १५ हजार रुपैयाँ राशिको भोजपुरी पत्रकारिता पुरस्कार–२०८३ अग्रज पत्रकार रामप्रसाद साहलाई प्रदान गरिएको छ। भोजपुरिया माटी पत्रिकाका सम्पादक रहेका साहलाई भोजपुरी भाषामा पत्रकारितामार्फत पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। पुरस्कारका संस्थापक ढुनराज शर्मा पन्थीले मातृभाषामार्फत पत्रकारिता गर्ने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए।
यस्तै १० हजार रुपैयाँ राशिको अफिमी लाल–परमेश्वरी देवी भोजपुरी सेवा पुरस्कार वरिष्ठ साहित्यकार तथा कवि बिकाउ गिरीलाई प्रदान गरिएको छ। स्वास्थ्य अवस्थाका कारण काठमाडौं उपस्थित हुन नसकेपछि वीरगञ्जस्थित उनको निवासमै पुगेर सम्मान गरिएको थियो। उक्त सम्मान समारोहलाई अनलाइन माध्यमबाट काठमाडौंस्थित कार्यक्रममा प्रत्यक्ष जोडिएको थियो।
प्रतिष्ठानका अध्यक्ष आनन्द गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषा आयोगका सदस्य मातृका प्रसाद पोखरेल र पुष्करराज भट्ट, आयोगका पूर्वअध्यक्ष डा. गोपाल ठाकुर, पूर्व राज्यमन्त्री तथा बंगलादेशका लागि नेपालका पूर्वराजदूत डा. बंशीधर मिश्र, पूर्व सांसद शोभाकर पराजुलीलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए।
समारोहमा ‘वर्तमान सन्दर्भमा कबीर’ विषयक विशेष विमर्श पनि आयोजना गरिएको थियो। पत्रकार रितेश त्रिपाठीले सहजीकरण गरेको उक्त सत्रमा डा. गोपाल ठाकुर, त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. श्वेता दीप्ति तथा साहित्यकार दिनेश गुप्ताले कबीरका विचार आज पनि सामाजिक न्याय, समानता, मानवता र कुरीतिविरुद्धको चेतनाका दृष्टिले उत्तिकै सान्दर्भिक रहेको धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि मातृका प्रसाद पोखरेलले मातृभाषाको संरक्षण र विकासले नेपालको भाषिक विविधतालाई अझ समृद्ध बनाउने बताए। पूर्वराजदूत डा. मिश्रले अध्ययनअनुसार नेपालमा भोजपुरी भाषाको विस्तार पूर्वमा बागमती नदीदेखि पश्चिममा बाणगंगा नदीसम्म रहेको उल्लेख गर्दै यसको विभिन्न क्षेत्रीय स्वरूपहरूबारे पनि प्रकाश पारे।



