वीरगञ्ज । श्री गुरु हरगोबिंद साहेब जी सिख धर्मका छैटौँ गुरु हुनु हुन्थ्यो। उहाँको जन्म २१,आषाढ वदी ६, १६५२ (१९ जुन १५९५) मा अमृतसर नजिकको गुरुको वडालीमा भएको थियो। उहाँका पिता पाँचौँ गुरु श्री गुरु अर्जनदेव जी र माता गंगाजी हुनुहुन्थ्यो। बाल्यकालदेखि नै उहाँ धार्मिक, साहसी र कुशल नेतृत्व क्षमता भएका बालकका रुपमा परिचित हुनुहुन्थ्यो।
२९ जेष्ठ वदी १४ संवत् १६६३(सन् १६०६) मा श्री गुरु अर्जन देव जीको शहादत पछि ११ वर्षको उमेरमा उहाँ गुरु गद्दीमा विराजमान हुनुभयो।(श्री गुरु अर्जन देव जी महाराजलाई जहांगीर ले अत्यंत क्रुर तथा बर्बर तरीकाले शहीद गरेको थियो) गुरु गद्दी ग्रहण गर्दा बाबा बुड्ढा जीले (पंथका ज्येष्ठ, वरीष्ठ, आदरणीय महापुरुष) उहाँलाई दुई तरबार धारण गराउनु भयो। एउटा मीरी (सांसारिक शक्ति) र अर्को पीरी (आध्यात्मिक शक्ति) को प्रतीक थियो। यसरी गुरु हरगोबिंद साहेबले सिख इतिहासमा सन्त-सिपाहीको नयाँ युगको सुरुवात गर्नु भयो। गुरु हरगोबिंद साहेबलाई दल-भंजन योद्धा भनेर प्रशंसा गरीन्छ ।
गुरु हरगोबिंद साहेबको शिक्षा-दीक्षा महान विद्वान् भाई गुरदासजी को देख-रेखमा भएको थियो। गुरुजी लाई बाबा बुड्डाजीको आशीर्वाद पनि प्राप्त भइरहेको थियो। छैंटौं गुरु साहेबले सिख धर्म, संस्कृति एवं यसको आचार-संहितामा अनेक यस्तो परिवर्तनहरु ल्याएउनु भयो, जस कारण समुदायको बिरुवाको जरो बलियो हुदै गएको थियो, विरासतको यस महान बिरुवालाई गुरु हरगोबिंद साहेबले आफ्नो दिव्य-दृष्टिले सुरक्षा प्रदान गर्नु भयो तथा यसलाई फल्ने-फुल्ने अवसर पनि दिनु भयो ।
आफ्नो पिता श्री गुरु अर्जुन देवजी को शहीदीको आदर्शलाई उहाँले आफ्नो जीवनको उद्देश्य एवं उनको द्वारा शुरु गरिएको महान कार्यहरुलाई सफलता पूर्वक सम्पूर्ण गर्नका लागि आजीवन आफ्नो प्रतिबद्धता पनि देखाए। उहाँले स्पष्ट सन्देश दिनुभयो कि ईश्वरको भक्ति गर्ने व्यक्तिले अन्याय र अत्याचारको पनि डटेर सामना गर्नुपर्छ। अत्याचारको जवाफ् दिनको लागि शक्ति र शस्त्रको प्रयोग आवश्यक छ ।
प्रथम गुरु श्री गुरु नानक देव जी महाराजले सिखहरुलाई दिनु भएको “गृहस्थ सन्यासी” को दर्शनमा एउटा अरु दर्शन थप्ने काम गर्छु भनेर भन्नु भयो “सन्त सिपाही” एक हातमा भक्तिको माला अर्को हातमा शक्तिको प्रतीक, कृपाण (तरबार) जसले भक्ति, भाव, आदर, दया तथा मायाले संगत गर्छ बुझ्छ, उसलाई जप तप मालाले ज्ञान् दिने छौं, जसले उक्त कुरा ग्रहण गर्दैन जसले पाप अत्याचारको कुरा गर्छ त्यस्तो पापी दुराचारी अत्याचारीलाई अर्को हातमा रहेको कृपाणले (तरबार) ले सम्झाउने छौं, किन भने भक्तलाई भक्तिले शत्रुलाई शक्तिले जवाफ दिनु पर्ने हुन्छ। यदि कुनै अत्याचारीले मानवताको कुरा बुझ्दैन भने उसलाई चेतावनी साथ शक्ति द्वारा रोक्नु पर्दछ ।
उहाँले आफ्नो शिष्यहरुलाई युद्ध कौशल अभ्यास घोडसवारी, तीर तरबार तथा सुरक्षाको निति र शिक्षा प्रदान गरे। सिख सैनिक तैयार पारे। उहाँले धर्म तथा मानवताको लागी युद्ध गर्नु भयो र विजयी प्राप्त गर्नु भयो । गुरु साहेबले ५ आषाढ संवत् १६६५ मा श्री अकाल तख्त साहेबको स्थापना गर्नुभयो। यो तख्त सिखहरुको सर्वोच्च लौकिक तथा धार्मिक निर्णयको केन्द्र बन्यो। यही स्थान बाट उहाँले धार्मिक उपदेश सँगै सामाजिक न्याय, आत्मरक्षा र जनकल्याणका विषयमा मार्गदर्शन दिनुहुन्थ्यो।उहाँले मिरी र पिरीको दुई कृपाण (तलवार)आफ्नो कम्मरमा धारण गर्नु भयो, मुगल सम्राट जहाँगीरले गुरु साहेबलाई ग्वालियर किल्लामा कैद गरेका थिए।
केही समय पछि रिहा गर्ने निर्णय हुँदा गुरु साहेबले आफु मात्र बाहिर निस्कने अस्वीकार गर्नुभयो। उहाँले त्यहाँ कैद गरिएका ५२ हिन्दू राजाहरुलाई पनि मुक्त गराउनु भयो। त्यसैले उहाँलाई “बन्दी छोड़ दाता” भनिन्छ र यस घटनाको सम्झनामा आज पनि बन्दी छोड़ दिवस मनाइन्छ दिपमाला, दिपावली गरीन्छ। गुरु हरगोबिंद साहेबले सिख समुदायलाई आत्मरक्षाका लागि सैनिक तालिम दिनुभयो। उहाँले घोडचढी, शस्त्रविद्या र अनुशासित सेनाको विकास गर्नुभयो। उहाँले सिखहरुलाई कहिल्यै आक्रमण नगर्न, तर अन्याय भएमा दृढ़ता पूर्वक प्रतिकार गर्न शिक्षा दिनु भयो।
श्री गुरु हरगोबिंद साहेब ले कुनै पनि युद्ध राज्य विस्तार वा व्यक्तिगत स्वार्थका लागि लड्नु भएन। उहाँका सबै युद्ध धर्म, मानव अधिकार, धार्मिक स्वतन्त्रता तथा आत्म रक्षाका लागि थिए। गुरु साहेबले सिख पन्थलाई “सन्त–सिपाही” को आदर्श प्रदान गर्नुभयो।
परम्परागत सिख इतिहास अनुसार उहाँले चार प्रमुख युद्ध लड्नुभयो।
१. अमृतसरको युद्ध संवत् १६८५ विक्रम (इ.सं. १६२८) मुगल सेनापति मुखलिस खान जहाँगीरको मृत्युपछि शाहजहाँ सम्राट बने। एक दिन शाहजहाँको मनपर्ने बाज (शिकारी चरा) उडेर गुरु साहेबको शिविरमा आयो। मुगल सैनिकहरुले बाज फिर्ता मागे, तर विवाद चर्किए पछि शाहजहाँले मुखलिस खानको नेतृत्वमा ठूलो सेना पठाए। भीषण युद्धमा गुरु साहेबका वीर सिखहरुले अद्वितीय साहस देखाए। अन्ततः मुखलिस खान युद्ध मै मारिए र मुगल सेना पराजित भयो। यो गुरु साहेबको पहिलो ठूलो सैनिक विजय थियो।
२. श्री हरगोबिंदपुरको युद्ध संवत् १६८७ विक्रम (इ.सं. १६३०) गुरु साहेबले ब्यास नदी किनारमा श्री हरगोबिंदपुर नगर स्थापना गर्नु भयो। यसबाट स्थानीय मुगल अधिकारीहरु असन्तुष्ट भए र को नेतृत्वमा ठूलो सेना पठाइयो। युद्धमा सिख सेनाले अनुशासन र अद्भुत वीरता प्रदर्शन गर्यो। रत्न चन्द धरेड, कर्म चन्द, अब्दुल्ला खां मारिए र मुगल सेना पराजित भयो। यस विजयले सिखहरुको आत्मविश्वास अझ बढायो।
३. मेहराज (लहिरा) मालवा को युद्ध
संवत् १६८८ विक्रम (इ.सं. १६३१) मुगल सेनापति लाला बेग शाहजहाँले गुरु साहेबको बढ्दो प्रभाव रोक्न फेरि सेना पठाए। लाला बेगको नेतृत्वमा आएको सेनाले मेहराज क्षेत्रमा गुरु साहेबलाई घेराबन्दी गर्ने प्रयास गर्यो। गुरु साहिबले उत्कृष्ट युद्धकौशल र रणनीतिका साथ सिख सेनाको नेतृत्व गर्नुभयो। लामो संघर्षपछि मुगल सेना पछि हट्न बाध्य भयो। यस युद्धले मालवा क्षेत्रमा सिखहरुको प्रभाव अझ बलियो बनायो।
४. करतारपुरको युद्ध संवत् १६९१ विक्रम (इ.सं. १६३४)
मुगल सेनापतिहरु पैंदे खान, काले खान र असमान खान, पैंदे खान पहिले गुरु साहेब कै संरक्षणमा हुर्किएका र उत्कृष्ट योद्धा थिए। पछि उनी मुगल पक्षमा लागे। शाहजहाँले पैंदे खान, काले खान र असमान खानको नेतृत्वमा ठूलो सेना पठाए। युद्ध सुरु हुनुअघि पनि गुरु साहेबले पैंदे खानलाई अन्यायको साथ नदिन सम्झाउनु भयो। उनले अस्वीकार गरेपछि घमासान युद्ध भयो। अन्ततः गुरु साहेबको बाण बाट पैंदे खान मारिए। काले खान र असमान खानको सेना पनि पराजित भयो। यस विजयले सिख पन्थको सैनिक शक्ति सम्पूर्ण उत्तर भारतमा स्थापित गरायो।
यी चारवटै युद्धले स्पष्ट प्रमाणित गर्छन् कि श्री गुरु हरगोबिंद साहेबले कहिल्यै आक्रमणकारी युद्ध गर्नु भएन। उहाँका सबै युद्ध धर्म, न्याय, मानव अधिकार, धार्मिक स्वतन्त्रता र आत्मरक्षाका लागि थिए। उहाँले सिख इतिहासमा “सन्त–सिपाही” को आदर्श स्थापित गर्दै अन्यायका विरुद्ध उभिनु पनि धर्मको अभिन्न अंग हो भन्ने अमर सन्देश दिनुभयो।
गुरु साहेबका तीन पत्नीहरु थिए-माता दामोदरी जी, माता नानकी जी र माता महादेवी जी। उहाँका पाँच पुत्र र एक पुत्री थिए। उहाँका कान्छा सुपुत्र श्री गुरु तेगबहादुर जी पछि सिख धर्मका नवौँ गुरु बन्नु भयो र धार्मिक स्वतन्त्रताको रक्षाका लागि (भारत, दिल्ली को चांदनी चोकमा) आफ्नो सिस दिएर सर्वोच्च बलिदान दिनु भयो।
गुरु हरगोबिंद साहेबको जीवनका मुख्य सन्देशहरु अत्यन्त प्रेरणादायी छन्। उहाँले ईश्वरप्रतिको अटल विश्वास, मानव सेवाको भावना, अन्यायविरुद्ध साहस, आत्मरक्षा, समानता र धार्मिक स्वतन्त्रताको रक्षा गर्न सिकाउनुभयो। उहाँले भन्नुभयो कि सच्चा भक्त कमजोर हुँदैन; उसमा दया पनि हुन्छ र अन्याय विरुद्ध उभिने साहस पनि हुन्छ। गुरु साहेबले कीर्तन, नाम सिमरन, लंगर, सेवा र शस्त्र विद्यालाई समान महत्व दिनुभयो। उहाँको जीवनले आध्यात्मिकता र वीरताको अद्भुत समन्वय प्रस्तुत गर्दछ। उहाँको नेतृत्वले सिख पन्थलाई संगठित, आत्मनिर्भर र अन्यायको सामना गर्न सक्षम समुदायमा रुपान्तरण गर्यो।
(सन् १६४४) चैत्र शुदि पंचमी ७ संवत् १७०१ मा किरतपुर साहेबमा गुरु हरगोबिंद साहेब ज्योति ज्योत समाउनु भयो। उहाँको सम्पूर्ण जीवन धर्म, न्याय, साहस र मानवताको संरक्षणका लागि समर्पित रह्यो। आज पनि उहाँलाई सन्त-सिपाही परम्पराका प्रवर्तक तथा धार्मिक स्वतन्त्रताका महान् रक्षकका रुपमा श्रद्धापूर्वक स्मरण गरिन्छ। उहाँको जीवनबाट हामीले सिक्ने सबैभन्दा ठूलो शिक्षा भनेको सत्यको मार्गमा अडिग रहँदै आवश्यक परे अन्यायको प्रतिकार गर्नु पनि धर्मकै एक महत्वपूर्ण कर्तव्य हो।
उहाँको प्रकाशोत्सव (अवतार दिवस, जयन्ती) आज आषाढ १६ मंगलबार, ३० जूनमा सबै साध संगतजी हरु लाई लाखौं लाख बधाई एवं शुभकामना!

जसपाल सिंह
श्रीपुर बीरगंज


