वीरगञ्ज । चीनको राजधानी बेइजिङमा आयोजना हुने ११ दिने विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेका नेपाली कुस्ती खेलाडी निशान्त कुमार यादवलाई वीरगञ्ज महानगरपालिका–१३ स्थित श्री राधेमाई आखाडामा सम्मानपूर्वक बिदाइ गरिएको छ।
आखाडामा आयोजित कार्यक्रममा गुरु मदन प्रसाद यादव र दिलीप पाण्डेयले यादवलाई फूलमाला तथा टीका लगाई सफल प्रशिक्षणको शुभकामना व्यक्त गर्दै सम्मानसहित बिदाइ गरेका हुन्।
गुरु मदन प्रसाद यादवका अनुसार नेपाल सरकारको पहलमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन यादव बेइजिङ जान लागेका हुन्। प्रशिक्षणले अन्तर्राष्ट्रिय स्तरको अनुभव र सीप हासिल गर्न सहयोग पुग्ने तथा त्यसबाट नेपाली कुस्ती खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।
आखाडाले निशान्त यादवले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी देशको नाम उच्च बनाउने अपेक्षा गर्दै उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेको छ।


