वीरगंज । भारतको राजधानी नयाँ दिल्लीमा डिम्ब तस्करीको सञ्जाल सक्रिय रहेको तथ्य प्रकाशमा आएको छ । उक्त सञ्जालले नेपालको कैलाली र कञ्चनपुर जिल्लाका थारु युवतीलाई निसाना बनाएर आफ्नो धन्दा चलाइरहेको तथ्य खुलासा भएको हो ।
भारतीय अखबार ‘दैनिक भास्कर’ले यसबारे स्थलगत रिपोर्ट नै प्रकाशन गरेको छ । नेपाल–भारतबिच सक्रिय अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको यो एक नयाँ ‘मोडस अपरेन्डी’ रहेको समाचारमा दाबी गरिएको छ ।
निःसन्तान भारतीय दम्पतीले ठुलो परिमाणमा रकम खर्च गरेर डिम्ब खरिद गर्ने गरेको परिस्थितिलाई तस्करहरूले आम्दानीको स्रोत बनाएर कैलाली र कञ्चनपुरका गरिब तथा सोझा–साझा थारु युवतीलाई निसाना बनाउने गरेको बताइएको छ ।
भारतमा निःसन्तान दम्पतीलाई डिम्ब उपलब्ध गराएबापत ४–५ लाख भारतीय रुपैयाँ तिर्न बाध्य बनाउने गरिएको पनि समाचारमा उल्लेख छ । यद्यपि, नेपालबाट लगिएका युवतीलाई भने ३०–४० हजार भारतीय रुपैयाँ दिने गरिएको जनाइएको छ ।
दैनिक भास्करको टिमले स्थानीय गैरसरकारी संस्थाको सहयोगमा डिम्ब दानका लागि केही समयअघि दिल्लीमा बोलाइएकी एक युवतीसँग कुराकानी गरेको जनाइएको छ । ती युवती कञ्चनपुर निवासी रहेको र उनी थारु समुदायको रहेको समाचारमा उल्लेख छ ।
भारतमै बस्दै आएकी एक नेपाली महिलासँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेकी ती युवतीलाई ठुलो रकमको लालच दिएर दिल्लीमा बोलाइएको दाबी समाचारमा गरिएको छ ।
डिम्ब दानबापत एक पटकमा ३० हजार भारतीय रुपैयाँ दिने सहमतिसहित ती युवतीलाई दिल्ली बोलाइएको थियो । उनी दिल्ली जानका लागि गौरीफन्टा नाका पुगेपछि सुरक्षाकर्मीले सोधपुछका लागि बोलाए । भारत जानुपर्ने कारणबारे उनको जबाफ चित्तबुझ्दो नभएपछि सुरक्षाकर्मीले उनलाई फर्काइदिएका थिए ।
दिल्लीमा बोलाइएकी ती युवतीले आफूलाई डिम्ब दान भनेको रक्तदानजस्तै हो भनेर ‘ब्रिफिङ’ गरिएको बताएकी छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी सजिलै ३० हजार भारतीय रुपैयाँ पाउने प्रलोभनमा दिल्ली जान राजी भएकी थिइन् ।
दुई देशबिच खुला सिमाना रहेका कारण मानव तस्करीको कुनै आधिकारिक तथ्याङ्क उपलब्ध हुन नसकेको समाचारमा जनाइएको छ ।
बोर्डरमा तैनाथ सुरक्षाकर्मीलाई शङ्का लागेको खण्डमा सोधपुछ गर्ने गरेको र उद्धार गरिएका महिला तथा किशोरीलाई ‘काउन्सिलिङ’ गरी फर्काउने गरिएको समाचारमा उल्लेख छ । प्रतिवर्ष औसतमा ७ हजार ४०० जनालाई मानव तस्करीको आशङ्कामा बोर्डर क्षेत्रबाट फर्काउने गरिएको जनाइएको छ ।


