Categories समाचार

सिरहामा प्रहरी तस्करबीच गोली हानाहान, ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार लागुऔषध कारोबारी समूहलाई पक्राउ गर्ने क्रममा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। घटनामा भारतका एक नागरिक गोली लागेर घाइते भएका छन् भने उनका अन्य सहयोगी फरार भएका छन्।

प्रहरीका अनुसार लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनापछि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोजेपछि तस्कर समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेको थियो। उक्त गोलीबाट प्रहरीतर्फ कुनै मानवीय क्षति भने भएन।

Advertisement

जवाफी कारबाहीस्वरूप प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको प्रहरीले जनाएको छ।

Advertisement

सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घाइते कलाम उक्त समूहका मुख्य सदस्य हुन्। उनी लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले कलामको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घाइते कलामको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

घटनापछि फरार भएका अन्य २–३ जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *