Categories समाचार

भीषण गर्मीमा वीरगञ्जवासीलाई थप सास्ती : पटकपटकको विद्युत अवरोधले जनजीवन प्रभावित

वीरगञ्ज । अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेका बेला नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रअन्तर्गत पछिल्लो समय भइरहेका पटकपटकका विद्युत अवरोधले सर्वसाधारण थप समस्यामा परेका छन्। विशेषगरी रातिको समयमा नियमितजस्तै विद्युत जाने समस्याले बालबालिका, बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

पर्सासहित तराईका जिल्लामा तापक्रम निरन्तर बढिरहेका कारण दिनरात नै असहज अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा विद्युत आपूर्ति अवरुद्ध हुँदा पंखा, एसी, अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजरलगायतका अत्यावश्यक उपकरणसमेत सञ्चालन हुन नसक्दा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

Advertisement

स्थानीयका अनुसार दिनमा केही समय विद्युत कटौती भए पनि पछिल्ला दिनहरूमा राति पटकपटक बत्ती जाने र लामो समयसम्म नआउने समस्या बढेको छ। यसले निद्रा, स्वास्थ्य तथा दैनिक जीवनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ।

Advertisement

यसबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रमा सम्पर्क गर्न खोज्दा अधिकांश समय फोन नउठ्ने, उठे पनि “माथिबाटै समस्या आएको छ” भन्ने एउटै जवाफ दिने गरिएको स्थानीयको गुनासो छ। समस्या कहिले समाधान हुन्छ भन्ने स्पष्ट जानकारी नदिइने भएकाले सेवाग्राही थप निराश बनेका छन्।

चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका बेला लामो समय विद्युत अवरुद्ध हुँदा विशेषगरी बालबालिका, गर्भवती, मुटु तथा श्वासप्रश्वासका बिरामी, उच्च रक्तचापका बिरामी र ज्येष्ठ नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। पर्याप्त हावा नपाउँदा हीट स्ट्रोक, निर्जलीकरण, रक्तचाप असन्तुलन तथा श्वासप्रश्वाससम्बन्धी जटिलता बढ्ने जोखिम रहने उनीहरूको चेतावनी छ। अस्पताल तथा घरमै विद्युतमा निर्भर स्वास्थ्य उपकरण प्रयोग गरिरहेका बिरामीका लागि यस्तो अवस्था थप जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ।

स्थानीयवासीले गर्मीको चरम समयमा अव्यवस्थित विद्युत आपूर्ति अस्वीकार्य भएको भन्दै समस्या तत्काल समाधान गर्न, विद्युत अवरोधको वास्तविक कारण सार्वजनिक गर्न तथा नियमित सूचना प्रवाह गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन्। उनीहरूले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विद्युत सेवाप्रति जिम्मेवार र जवाफदेही बन्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *