लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार मध्यान्ह करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले घाइते चारै जनाको उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पुर्याएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका–६ निवासी ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिटी अटो चालक लेटाङ–६ निवासी अन्दाजी ४० वर्षीय वीरबहादुर राई, लेटाङ–६ निवासी अन्दाजी २७ वर्षीया शान्ति राई र लेटाङ–५ निवासी अन्दाजी ५० वर्षीया अनु राई घाइते भएका छन्। उनीहरूको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


