Categories समाचार

लागूऔषध माफियाको ढाड भाँच्दै प्रहरी निरीक्षक मल्ल

सिरहा । इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा सिरहामा लागूऔषधविरुद्ध सञ्चालन गरिएको अभियानले लगातार सफलता हासिल गरिरहेको छ। हिजो प्रहरी र लागूऔषध कारोबारीबीच भएको गोली हानाहानपछि एक मुख्य कारोबारी पक्राउ परेका छन् भने करिब १० दिनअघि गरिएको अर्को विशेष अपरेसनमा पनि प्रहरीले अर्का कुख्यात कारोबारीलाई नियन्त्रणमा लिएको थियो।

हिजो, नवराजपुर गाउँपालिका–५ को सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक मल्लको कमान्डमा प्रहरी टोली पुगेको थियो। प्रहरी टोलीले कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए।

Advertisement

त्यसपछि प्रहरीले जवाफी कारबाहीस्वरूप दुई राउन्ड गोली चलाउँदा भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा गोली लागेको थियो। प्रहरीले उनको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीका अनुसार अन्य २–३ जना फरार रहेका छन् र उनीहरूको खोजी जारी छ।

Advertisement

यसअघि करिब १० दिनअघि, सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुर पतार र लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार शाखाको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अपरेसनमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान पक्राउ परेका थिए।

पक्राउका क्रममा उनले प्रहरीमाथि ढुंगामुढा गर्दै भाग्ने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली चलाउँदा उनको पिँडुलामा गोली लागेको थियो। घटनामा एक प्रहरी जवान पनि घाइते भएका थिए।

उक्त अपरेसनमा पासवान र एक नाबालकको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार पासवान सिरहाका सक्रिय लागूऔषध कारोबारीमध्ये एक हुन्। उनले करिब ३ करोड रुपैयाँ बराबरको ब्राउन सुगर बिक्री गरेको अनुमान गरिएको छ। नाबालकलाई प्रयोग गरेर संगठित रूपमा लागूऔषध कारोबार सञ्चालन गर्दै आएको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।

लगातार दुई ठूला अपरेसन सफल बनाएपछि प्रहरी निरीक्षक मल्लको नेतृत्वमा सिरहामा लागूऔषध तस्करी सञ्जालविरुद्ध कडा कारबाही भइरहेको देखिएको छ।

यसअघि पर्सामा कार्यरत रहँदा पनि उनले लागूऔषधविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै तस्करविरुद्ध प्रभावकारी अपरेसन चलाएका थिए। सिरहामा आएपछि पनि उनले त्यही अभियानलाई निरन्तरता दिँदै सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जालमाथि दबाब बढाएका छन्।

प्रहरीका अनुसार लागूऔषध तस्करी नियन्त्रणका लागि विशेष अपरेसनहरू आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *