वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ को आर्थिक सहयोग तथा E रोबोटिक्सको प्राविधिक सहयोगमा विज्ञान तथा प्रविधि विषयअन्तर्गत तयार पारिएका विभिन्न प्रोजेक्ट वर्कहरू सफलतापूर्वक निर्माण तथा प्रस्तुत गरिएको छ।
कार्यक्रममा श्री शारदा माध्यमिक विद्यालय, बहुवारी–सुगौलीका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक तथा नवप्रवर्तनात्मक प्रोजेक्टहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले तयार गरेका प्रोजेक्टले विज्ञान र प्रविधिप्रतिको उनीहरूको रुचि, क्षमता तथा सिर्जनशीलतालाई उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका–२४ का वडा अध्यक्ष विजय पटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुश्वाहा, वडा सचिव, वडा सदस्यहरू, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै E रोबोटिक्सका प्राविधिक टोली, वीरगञ्ज महानगरपालिका–२४, विद्यालय परिवार तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको थियो।
आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने जनाएको छ।


