Categories समाचार

१३ वर्षीया बालिकाको शंकास्पद आत्महत्या, सात जनाविरुद्ध प्रहरीमा जाहेरी

वीरगंज । बाराको कलैया उपमहानगरपालिका–२१ भोडहाकी १३ वर्षीया बालिकाको आत्महत्यापछि उनकी आमाले सात जनाविरुद्ध जबर्जस्ती करणीको प्रयास तथा आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दर्ता गराएकी छन्।

जाहेरीअनुसार असार १५ गते दिउँसो करिब २:५५ बजे बालिका गाउँ नजिकैको सरेहमा शौच गर्न एक्लै गएकी बेला स्थानीय सात जनाले उनलाई घेरा हालेर अश्लील प्रस्ताव गरेका थिए। बालिकाले प्रतिवाद गरेपछि आरोपितहरूले शरीरका संवेदनशील अंग छोई जबर्जस्ती करणी गर्ने प्रयास गरेको, प्रतिरोध गर्दा कुटपिट गरेको तथा घटना कसैलाई बताए ज्यान र इज्जतमा आँच पुर्‍याउने धम्की दिएको आरोप लगाइएको छ।

Advertisement

घर फर्किएपछि बालिकाले रोइरहेकी देखेपछि आमाले सोधपुछ गर्दा घटनाबारे जानकारी दिएको जाहेरीमा उल्लेख छ। त्यसपछि आमा आरोपितहरूको घरमा पुगेर विरोध जनाउँदै गाउँमा छलफल र कानुनी कारबाही गर्ने बताएकी थिइन्।

Advertisement

जाहेरीमा उल्लेख भएअनुसार त्यसको भोलिपल्ट असार १६ गते बिहान करिब १० बजे आरोपितहरू बालिकाकै घर पुगेका थिए। उनीहरूले अघिल्लो दिनको घटनाबारे कसैलाई नबताउन दबाब दिँदै गाउँभरि बदनाम गरिदिने धम्की दिएका र पुनः कुटपिट गरेको आरोप छ।

यस घटनापछि बालिका आफ्नै कोठाभित्र गएकी थिइन्। लामो समयसम्म बाहिर ननिस्किएपछि परिवारले ढोका फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। तत्काल उपचारका लागि कलैया अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतककी आमा सहिमा खातुनले घटनामा संलग्न रहेको आरोप लगाउँदै सिकारी मियाँ अन्सारी, साहिल अन्सारी, नजबुलाह अन्सारी, नसिर देवान, सेर महम्मद मियाँ, इरसाद अन्सारी र जनोदिन मियाँ अन्सारीविरुद्ध जाहेरी दिएकी छन्।

जाहेरीमा आरोपितहरूले बालिकामाथि जबर्जस्ती करणी गर्ने प्रयास गरी शारीरिक तथा मानसिक यातना दिएको र त्यसकै कारण आत्महत्या गर्न बाध्य बनाएको दाबी गरिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (जबर्जस्ती करणी सम्बन्धी कसुर) अन्तर्गत दफा ३४ बमोजिम उद्योग (प्रयास) तथा दफा १८५ (आत्महत्या दुरुत्साहन) अन्तर्गत कानुनी कारबाही, हदैसम्मको सजाय र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको छ।

इलाका प्रहरी कार्यालय सिमराले असार १७ गते उक्त जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *