Categories समाचार

बहुदरमाई नगरपालिकामा बजेटको हिसाब माग्दा दुर्व्यवहार भएको आरोप

वीरगंज। बहुदरमाई नगरपालिकामा सार्वजनिक बजेटबाट खरिद गरिएको सामग्रीको विवरण माग्न पुगेका स्थानीय युवामाथि दुर्व्यवहार भएको आरोप लागेको छ। घटनापछि नगरपालिकाको पारदर्शिता, सुशासन र जनप्रतिनिधिको जवाफदेहितामाथि स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार मठ–मन्दिरका लागि विनियोजन गरिएको करिब पाँच लाख रुपैयाँबाट खरिद गरिएको माइक, स्पिकर तथा अन्य सामग्रीको लागत र खरिद प्रक्रियाबारे जानकारी लिन उनीहरू नगरपालिकामा पुगेका थिए। तर विवरण उपलब्ध गराउनुको सट्टा उपमेयर सुश्मा कुशवाहाका श्रीमान् विक्की कुशवाहा तथा नगरपालिकाका एक कार्यालय सहयोगी अभद्र व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन्।

Advertisement

घटनापछि स्थानीयवासीले सार्वजनिक बजेटको खर्च विवरण माग्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै, “करदाताको पैसाको हिसाब माग्नु अपराध हो?” भन्ने प्रश्न उठाएका छन्। उनीहरूले सार्वजनिक स्रोतको खर्चबारे जानकारी दिन नगरपालिकाले किन आनाकानी गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement

स्थानीयले अर्को प्रश्न पनि उठाएका छन्– “बहुदरमाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधि उपमेयर सुश्मा कुशवाहा हुनुहुन्छ कि उहाँका श्रीमान्?” नगरपालिकाको प्रशासनिक तथा सार्वजनिक काममा निर्वाचित नभएका व्यक्तिको संलग्नतामाथि समेत उनीहरूले आपत्ति जनाएका छन्।

स्थानीयको भनाइमा सार्वजनिक निकायले खर्च गरेको रकमको विवरण सहज रूपमा उपलब्ध गराउनु कानुनी दायित्व हो। नागरिकले सूचना माग्दा दुर्व्यवहार हुने अवस्था रहिरहे स्थानीय सरकारप्रतिको विश्वास कमजोर बन्ने उनीहरूको भनाइ छ।

यस घटनाले स्थानीय तहमा पारदर्शिता, सार्वजनिक बजेटको सदुपयोग, नागरिकको सूचनाको अधिकार तथा जनप्रतिनिधिको जवाफदेहिताबारे नयाँ बहस सिर्जना गरेको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यद्यपि, यस विषयमा बहुदरमाई नगरपालिकाको र उपमेयर कुशवाहाको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *