Categories समाचार

भजन विमोचनसँगै गहवा माईको चौथो विशाल रथ यात्राको तयारीलाई थप गति

वीरगञ्ज । आगामी असार ३२ गते आयोजना हुने श्री गहवा माईको चौथो विशाल रथ यात्राको माहोललाई थप उत्साहपूर्ण बनाउन “सोनवा के रथ गहवा माई के” शीर्षकको भक्तिमय भजनको डिजिटल भिडियो सार्वजनिक गरिएको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले मंगलबार वीरगञ्जस्थित माईस्थान मन्दिर परिसरमा आयोजित विशेष समारोहबीच उक्त भजन सार्वजनिक गरेको हो। गहवा माईप्रतिको श्रद्धा, आस्था र भक्तिभावलाई केन्द्रमा राखेर तयार पारिएको भजनमा वीरगञ्जका युवा गायक चन्दन पण्डित ले स्वर दिएका छन्।

Advertisement

समितिका अनुसार भजनले गहवा माईको धार्मिक महत्त्वलाई देश–विदेशमा रहेका श्रद्धालुसम्म पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा आयोजकहरूले सबै भक्तजनलाई “CHANDAN PANDIT OFFICIAL” युट्युब च्यानलमार्फत भजन हेर्न, सुन्न र सामाजिक सञ्जालमा साझा गरेर धार्मिक सन्देश फैलाउन आग्रह गरेका थिए।

Advertisement

भजन विमोचन कार्यक्रम समितिका अध्यक्ष श्याम पोखरेल को अध्यक्षतामा सम्पन्न भएको थियो भने समाजसेवी प्रकाश उपाध्याय प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा श्री गहवा माई रथ यात्रा–२०८३ का संयोजक बसन्त कुमार गुप्ता, समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), पण्डित तथा ज्योतिषी राजिव रञ्जन भार्द्वाज लगायत विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, पदाधिकारी र श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

उपस्थित वक्ताहरूले गहवा माईको रथ यात्रा वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण, प्रवर्द्धन र सफल आयोजनाका लागि सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।

समितिले आगामी असार ३२ गते हुने चौथो विशाल रथ यात्रामा हजारौं श्रद्धालुको सहभागिता हुने अपेक्षा गर्दै रथ यात्रालाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *