वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरी बलले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। साथै, छुट्टै कारबाहीमा करिब ५ लाख रुपैयाँ बराबरका अवैध औषधिजन्य सामग्री पनि बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार, असार २२ गते राति करिब १०:३० बजे नं. १३ गण मुख्यालय र सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा एक भारतीय महिलाको दुवै तिघ्रामा टेपले बाँधेर लुकाइएको अवस्थामा प्रतिबन्धित लागूऔषध फेला पारेको हो।
बरामद लागूऔषधमा डाइजेपाम (Diazepam) २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड (Promethazine Hydrochloride) २०० एम्पुल र बुप्रेनोर्फिन (Buprenorphine) २०० एम्पुल गरी कुल ६०० एम्पुल रहेका छन्।
उक्त महिलासहित साथमा रहेका अन्य दुई जनालाई ई–रिक्सासहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, असार २३ गते बिहान करिब ४:३० बजे वीरगञ्ज महानगरपालिका–१ छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीलाई देख्नासाथ भारतबाट भन्सार छली नेपालतर्फ औषधिजन्य सामग्री ल्याउँदै गरेका दुई जना व्यक्तिले सामान छाडेर फरार भएका थिए।
घटनास्थलबाट करिब ५ लाख रुपैयाँ बराबरका चार कार्टुन भिटामिन लगायतका औषधिजन्य सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।


