वीरगंज । सामाजिक कार्यकर्ता, सेवा संयोजक तथा भारत विकास परिषद् रक्सौलका मिडिया इन्चार्ज बिमल सर्राफले जीवनमा मूल्यमान्यता र नैतिकताको महत्त्वबारे जोड दिएका छन्।
उनले भने, “जीवनमा मूल्यमान्यता र संक्रमण दुवै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छन्। मूल्यमान्यताले मानव सभ्यतालाई कल्याणतर्फ डोर्याउँछ भने संक्रमणले रोग र विनाश फैलाउँछ।”
सर्राफका अनुसार केवल भौतिक रूपमा धनी हुनु पर्याप्त हुँदैन, मानसिक रूपमा पनि समृद्ध हुनु आवश्यक छ। छल, कपट, झूट वा ठगीबाट आर्जित सम्पत्तिले क्षणिक सुविधा दिन सक्छ, तर वास्तविक सुख र आत्मसन्तुष्टि दिन सक्दैन। “भगवानले मानिसको कर्म मात्र होइन, मनको भावना पनि देख्नुहुन्छ,” उनले भने।
उनले आजको डिजिटल युगमा कृत्रिम छवि र देखावटीपनभन्दा सरलता, स्वाभाविक व्यवहार र इमानदारी नै मानिसको मन जित्ने सबैभन्दा ठूलो आधार भएको उल्लेख गरे। “रिल, प्रदर्शन र बाहिरी आकर्षणले केही समयका लागि प्रभावित पार्न सक्छ, तर स्थायी सम्मान र विश्वास सरल तथा प्राकृतिक व्यवहारबाट मात्रै प्राप्त हुन्छ,” उनले बताए।
सर्राफले चिन्ताभन्दा सकारात्मक सोचलाई जीवनको आधार बनाउन आग्रह गर्दै भने, “चिन्ताले भोलिको समस्या समाधान गर्दैन, बरु आजको शान्ति पनि खोस्छ। त्यसैले सधैं प्रसन्न रहन प्रयास गर्नुपर्छ।”
उनका अनुसार जन्मिँदा मानिससँग सास हुन्छ, तर नाम हुँदैन। मृत्यु हुँदा नाम रहन्छ, तर सास रहँदैन। “सास र नामबीचको यात्रालाई नै जीवन भनिन्छ,” उनले उल्लेख गरे।
उनले कसैको प्रभाव वा अनुपस्थितिमा होइन, आफ्नै स्वभाव, आत्मविश्वास र नैतिक मूल्यअनुसार जीवन बिताउन सुझाव दिए। “साहसका साथ एक कदम अघि बढ्दा भगवानको साथ पनि प्राप्त हुन्छ,” उनले भने।
सर्राफले मन शान्त राख्नु नै भाग्य, मनलाई नियन्त्रणमा राख्नु सौभाग्य, कसैलाई हृदयदेखि सम्झनु महान् भाग्य र कसैबाट हृदयदेखि सम्झिइनु सबैभन्दा ठूलो सौभाग्य भएको बताए। साथै उनले थपे, “तस्बिरमा सँगै हुनु एउटा क्षणलाई अविस्मरणीय बनाउँछ, तर समस्याको समयमा साथ दिनु सम्पूर्ण जीवनलाई अविस्मरणीय बनाउँछ।”


