वीरगञ्ज । मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्र श्री गहवा माई मन्दिरमा आयोजना हुन लागेको चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी दुईदिने महोत्सवका कार्यक्रम सार्वजनिक गरेको हो।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे मन्दिर परिसरमा विशेष पूजा–अर्चनापछि चौथो विशाल रथ यात्राको शुभारम्भ हुनेछ। यस वर्ष रथ यात्राको विशेष आकर्षणका रूपमा यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था गरिएको जनाइएको छ।
सोही दिन साँझ मन्दिर परिसरमा चर्चित भजन गायक–गायिकाको सहभागितामा भव्य भजन सन्ध्या आयोजना हुनेछ। त्यसको भोलिपल्ट श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।
रथ यात्रामा ठूलो सङ्ख्यामा श्रद्धालु सहभागी हुने अनुमान गर्दै समितिले मेनरोड क्षेत्रमा जारी सडक विस्तार तथा भत्काउने कार्य रथ यात्रा अवधिभर रोक्न सडक डिभिजन कार्यालयलाई औपचारिक अनुरोध गरिसकेको जानकारी दिएको छ।
समितिले धार्मिक, सामाजिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी र सम्पूर्ण नगरवासीलाई रथ यात्रामा सहभागी हुन आह्वान गरेको छ। साथै रथ यात्रा मार्गमा पर्ने घर तथा पसलहरूमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन तथा श्रद्धालुका लागि खानेपानी, सर्वतलगायत सेवामूलक व्यवस्था गरी धार्मिक महोत्सवलाई सफल बनाउन आग्रह गरिएको छ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), रथ यात्रा–२०८३ की महिला संयोजक विभा साह, संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमितिका संयोजक श्याम प्रसाद गुप्तालगायत पदाधिकारीको उपस्थिति रहेको थियो।
समितिले गहवा माईको रथ यात्रा धार्मिक आस्थासँगै वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको प्रतीक बनेकाले सबैलाई सभ्य र भव्य रूपमा सहभागिता जनाउन आग्रह गरेको छ।


