वीरगंज । सिंहदरबारभित्र प्रवेश गर्न नदिएको भन्दै कुमारी आमा भनेर परिचित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले आइतबार सिंहदरबारको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।
उनीहरूले आफूहरूसँग सिंहदरबार प्रवेशको पास हुँदाहुँदै पनि सुरक्षाकर्मीले भित्र जान नदिएको आरोप लगाएका छन्। गृहमन्त्री सुधन गुरुङलाई भेट्न पुगे पनि समय नदिइएको र पीडितहरूमाथि नै विभेदपूर्ण व्यवहार गरिएको उनीहरूको भनाइ छ।
उनीहरूको आरोप अनुसार केही पीडितलाई गृहमन्त्रीले प्रत्यक्ष भेट्ने गरेको भए पनि आफूहरूलाई पटक–पटक प्रयास गर्दा पनि भेट्ने अवसर नदिइएको हो।
विरोधका क्रममा प्रहरीले भित्र जान अनुमति नदिएपछि विनु यादव सिंहदरबार अगाडिको सडकमै सुतेर प्रदर्शनमा उत्रिएकी थिइन्। निहारिका राजपुत भने आफ्ना छोरासहित वर्षाको पानीमा गेटअघि बसेर विरोध जनाइरहेकी थिइन्।
केही समयपछि प्रहरीले दुवैलाई सिंहदरबारको गेट क्षेत्रबाट हटाएको थियो। घटनापछि उनीहरूले पीडितको आवाज राज्यले बेवास्ता गरेको आरोप दोहोर्याएका छन्।


