Categories समाचार

तिलावे खोलामा नेपाल–भारत संयुक्त विपद् व्यवस्थापन अभ्यास सम्पन्न

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित छटघाट तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (Simulation Exercise) सम्पन्न भएको छ।

अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसी तथा भारतीय सशस्त्र सीमा बल (SSB) ४७ बटालियन, जी कम्पनी, सिसुवाका सहायक कमाण्डेन्ट संगम सिंह रावतको नेतृत्वमा संयुक्त टोली सहभागी भएको थियो।

Advertisement

सीमावर्ती क्षेत्रमा हुन सक्ने प्राकृतिक विपद्, विशेषगरी बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरण तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अभ्यासमा दुवै देशका विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरूले बाढी तथा डुबानमा फसेका सर्वसाधारणको सुरक्षित उद्धार, राहत समन्वय र संयुक्त कार्यसम्पादनको व्यावहारिक प्रदर्शन गरेका थिए।

Advertisement

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमावर्ती क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, आपसी समन्वय सुदृढीकरण तथा जनधनको क्षति न्यूनीकरणका लागि यस्ता संयुक्त अभ्यास प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ। आगामी दिनमा पनि भारतीय समकक्षी एसएसबीसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *