वीरगंज । मोबाइल फोन प्रयोग भइरहेका बेला एकाएक फोनले सामान्य रूपमा काम गर्न छाडेपछि बैंक खाताबाट ९२ हजार रुपैयाँ चोरी भएको भन्दै एक पीडितले सम्बन्धित निकायमा उजुरी दिएका छन्।
पीडितका अनुसार मोबाइल अचानक नियन्त्रणबाहिर गएजस्तो भएपछि केहीबेरमै आफ्नो बैंक खाताबाट ९२ हजार रुपैयाँ अर्को बैंक खातामा ट्रान्सफर भएको एसएमएस प्राप्त भएको थियो। त्यसलगत्तै उनले सम्बन्धित बैंकमा सम्पर्क गरी खाता रोक्का गर्न आग्रह गरे पनि बैंकबाट रकम निकासा भइसकेको जानकारी पाएको दाबी गरेका छन्।
पछि बैंक स्टेटमेन्ट हेर्दा रकम अपरिचित बैंक खातामा स्थानान्तरण भएको देखिएपछि पीडितले घटनाको विस्तृत छानबिन गरी रकम प्राप्त गर्ने खाता रोक्का गर्न, संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाउन तथा चोरी भएको ९२ हजार रुपैयाँ फिर्ता गराइदिन माग गर्दै निवेदन दिएका छन्।
पछिल्लो समय मोबाइल ह्याक, फिसिङ लिंक, नक्कली एप तथा डिजिटल बैंकिङको दुरुपयोगमार्फत बैंक खाताबाट रकम चोरी गर्ने अनलाइन फ्रडका घटना बढिरहेका छन्। यस्ता घटनाप्रति सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल बैंक तथा सम्बन्धित साइबर निकायमा जानकारी गराउन सरोकारवालाले आग्रह गरेका छन्।


