Categories स्वास्थ्य

सातै प्रदेशमा आधुनिक बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

वीरगंज । प्रधानमन्त्री वालेन्द्र शाहले देशभर गम्भीर जलनका बिरामीले समयमै प्रभावकारी उपचार पाउन सकून् भन्ने उद्देश्यले सातै प्रदेशमा आधुनिक सुविधा सम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सरकारी अस्पतालमा सञ्चालनमा रहेका बर्न वार्डलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना शीघ्र कार्यान्वयन गर्न पनि जोड दिनुभयो।

Advertisement

उहाँले जलनका बिरामीको उपचारमा कुनै ढिलाइ नहोस् भन्नका लागि सङ्घ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो।

Advertisement

प्रधानमन्त्री शाहले सरकारले नागरिकमुखी स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल स्वास्थ्य प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सुशासनलाई व्यवहारमै लागू गर्न निर्देशन दिनुभयो।

त्यसैगरी आर्थिक रूपमा विपन्न, असहाय तथा कमजोर वर्गका नागरिकका लागि निजी अस्पतालले बाह्यरोगी (ओपिडी) सेवामध्ये कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले एउटा स्वास्थ्य संस्थामा सफल भएका अभ्यासलाई अन्य प्रतिष्ठानले पनि अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको नाममा रहेको अतिक्रमित जग्गा कानुनी प्रक्रियामार्फत फिर्ता गराउन सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बैठकमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, अस्पताल पूर्वाधार विकास, डिजिटल स्वास्थ्य प्रणाली कार्यान्वयन तथा अतिक्रमित जग्गाका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष सुझाव र जानकारी प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *