Categories समाचार साहित्य

भानु जयन्तीमा भाषा र साहित्य संरक्षणको सन्देश, विनयराज गौतम सम्मानित

वीरगञ्ज । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा वीरगञ्जमा आयोजित विशेष समारोहमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको छ।

नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ समालोचक तथा भानु प्रतिष्ठानका पूर्वअध्यक्ष प्रा.डा. व्रतराज आचार्यले भानुभक्त आचार्यको योगदान नेपाली भाषा र राष्ट्रिय पहिचानका लागि अतुलनीय रहेको उल्लेख गर्दै साहित्यिक सिर्जना र मातृभाषाप्रतिको सम्मान अझ सुदृढ बनाउनुपर्ने बताए।

Advertisement

सोही अवसरमा २०८२ सालभित्र मधेश प्रदेशका आठ जिल्ला तथा साविक नारायणी अञ्चलअन्तर्गत मकवानपुर र चितवनका साहित्यकारहरूले प्रकाशित गरेका कृतिमध्ये उत्कृष्ट ठहरिएको वीरगञ्जका साहित्यकार विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ लाई ‘नारायणी वाङ्गमय कृति सम्मान’ प्रदान गरिएको थियो। उनलाई नगद २५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

Advertisement

समारोहमा भाषा आयोगका पूर्वसदस्य गोपाल अश्क, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालालगायतले साहित्यिक गतिविधिलाई निरन्तरता दिन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, प्रतिष्ठानका सल्लाहकारहरू, विभिन्न साहित्यकार, शिक्षाविद्, समाजसेवी तथा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक कलेज, सिद्धार्थ इन्टरनेशनल कलेज र ज्ञानदा एकेडेमीका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिष्ठानकी सदस्य गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सदस्य सूर्य शुभचिन्तकले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *