वीरगंज । मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि मधेस प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले मधेससहित देशका विभिन्न क्षेत्रमा वर्षा हुने अवस्था बनेको हो।
महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ भने धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङ पर्ने जोखिम पनि रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यता, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी–नाला आसपास, पहिरो प्रभावित स्थान तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मौसमविद्का अनुसार मनसुनी प्रणाली अझै सक्रिय रहेकाले मधेस प्रदेशमा आगामी केही दिनसम्म पनि वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ। सर्वसाधारणलाई यात्रा, कृषि कार्य तथा खुला स्थानमा हुने गतिविधिमा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न आग्रह गरिएको छ।


