वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१, छपकैया सुकुम्बासी टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका अवैध कपडा लुकाएर राखिएको सूचनापछि सुरक्षानिकायले संयुक्त रूपमा छापामारी गर्दा करिब ३ लाख रुपैयाँ बराबरका कपडा बरामद भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली, इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले सोमबार दिउँसो छापामारी गरेको हो।
टोलीले छपकैया सुकुम्बासी टोलका १० वटा गोठ र ११ वटा फुसका घर खानतलासी गर्दा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनी लुकाएर राखिएको ४ पोका सुटिङ तथा थानका कपडा र गोठमा भुसभित्र लुकाइएको १ पोका कुर्ता–सुरुवालका कपडा फेला पारेको जनाएको छ।
बरामद भएका जम्मा ५ पोका कपडाको अनुमानित मूल्य ३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।


