Categories समाचार

दाइजो हिंसाका आरोपित चिकित्सक अस्पतालको एसी केबिनमा, अनुसन्धानको निष्पक्षतामाथि पीडितको प्रश्न

कलैया । दाइजो उत्पीडन तथा घरेलु हिंसाको आरोपमा पक्राउ परेका चिकित्सक डा. कृष्ण गुप्तालाई हिरासतको सट्टा अस्पतालको एसी केबिनमा राखेर अनुसन्धान अघि बढाइएको भन्दै पीडित परिवारले कानुनी प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

पीडित चेतनकुमारी शाहका अनुसार २०८१ फागुन २३ गते डा. गुप्तासँग विवाह भएपछि थप दाइजोस्वरूप करिब ४९ लाख रुपैयाँ बराबरको टाटा नेक्सन गाडी वा सो बराबरको नगद रकम माग गरिएको थियो। माग पूरा नभएपछि आफूलाई पटक–पटक शारीरिक र मानसिक यातना, गालीगलौज, ज्यान मार्ने धम्की तथा घरबाट निकाल्नेसम्मको व्यवहार गरिएको आरोप उनले लगाएकी छन्।

Advertisement

उक्त उजुरीका आधारमा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो। डा. गुप्ता असार २३ गते प्रहरीसमक्ष उपस्थित भएका थिए भने असार २६ गते स्वास्थ्य समस्या देखाउँदै वीरगञ्जस्थित एसएल न्युरो अस्पतालमा भर्ना भएका हुन्।

Advertisement

पीडित परिवारको दाबीअनुसार अस्पताल भर्ना हुनु अनुसन्धानबाट बच्ने र कानुनी प्रक्रिया प्रभावित पार्ने प्रयास हो। उनीहरूले सामान्य नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिने तर प्रभावशाली व्यक्तिलाई अस्पतालको सुविधासम्पन्न एसी केबिनमा राखिनुले कानुन सबैका लागि समान रूपमा लागू भएको अनुभूति नभएको बताएका छन्।

पीडित पक्षले यस घटनामा संलग्न अन्य आरोपित डा. गुप्ताका बुबा रामचन्द्र शाह कानु र आमा शिलादेवी गुप्ता अझै फरार रहेको दाबी गर्दै उनीहरूलाई पनि तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ।

साथै, डा. गुप्ताको स्वास्थ्य अवस्थाको स्वतन्त्र मेडिकल बोर्डबाट परीक्षण गराई आवश्यक परे प्रहरी निगरानीमै उपचार गराउँदै निष्पक्ष र प्रभावकारी अनुसन्धान अघि बढाउनुपर्ने उनीहरूको माग छ।

यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले भने डा. गुप्ताको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचाररत चिकित्सकको सल्लाहअनुसार प्रहरीको निगरानीमै अस्पतालमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *