वीरगञ्ज । उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–३० स्थित लालपर्सा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका सेवाग्राहीलाई लक्षित गर्दै तीन थान सिलिङ पंखा सहयोग गरेको छ।
संस्थाकी अध्यक्ष विध्या कुमारी सरावगीले आफ्नै निवासमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य चौकीका कार्यालय प्रमुख मेवालाल ठाकुर तथा सहायक कर्मचारी प्रभात चन्द झालाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा समाजसेवी प्रकाश थारु तथा स्थानीय भद्रभलादमीहरूको समेत उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। संस्थाले यसअघि पनि विभिन्न दुर्गम गाउँबस्तीमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको बताइएको छ।


