वीरगञ्ज। छपकैया तेक्वान्दो डोजाङले शनिबार आयोजना गरेको बेल्ट ग्रेडिङ कार्यक्रममा विभिन्न तहका १५ जना खेलाडीले सफलतापूर्वक नयाँ बेल्ट प्राप्त गरेका छन्।
डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
ग्रेडिङअन्तर्गत ९ जना खेलाडी ह्वाइट (सेतो) बेल्ट, ३ जना हाफ ग्रीन (हरियो) बेल्ट, १ जना ग्रीन बेल्ट र २ जना ब्लु बेल्टका लागि सफल भएका हुन्। ह्वाइट बेल्ट प्राप्त गर्नेमा सानभी क्षेत्री, दिवस सापकोटा, नित्यम चौरसिया, एम. आहिल हुसेन, कृतिक कुमार जाटिया, आयुष्मा कुमारीसहित ९ जना रहेका छन्। हाफ ग्रीन बेल्टतर्फ एरिका दास, एरोन दास र विकास प्रजापति, ग्रीन बेल्टतर्फ आहिल इब्राहिम तथा ब्लु बेल्टतर्फ सबना खातुन र अमन सर्राफ सफल भएका छन्।
ग्रेडिङ परीक्षा नवल किशोर शर्मा, राजेन्द्रकुमार शाही, मन्जिल मियाँ हवारी र विक्रान्त डंगोल सम्मिलित ग्रेडिङ समितिले सञ्चालन गरेको थियो। समितिका सदस्य राजेन्द्रकुमार शाहीले बेल्ट ग्रेडिङ खेलाडीको सीप, अनुशासन र निरन्तर अभ्यासको मूल्याङ्कन गर्ने महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै अझ बढी मेहनतका साथ प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रमका अध्यक्ष मियाँले छपकैया क्षेत्रमा तेक्वान्दोप्रति बालबालिका तथा युवाको आकर्षण बढ्दो क्रममा रहेको बताए। उनले खेलमार्फत आत्मरक्षा, अनुशासन र सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै भविष्यमा पनि दक्ष खेलाडी उत्पादनका लागि डोजाङले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा खेलाडी, अभिभावक तथा तेक्वान्दोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


