Categories लेख

वीरगन्ज घन्टाघरको ऐतिहासिक सौन्दर्य, काठमा कोरिएको कामुक कला : अश्लिलता कि जीवनदर्शन

मधेश प्रदेशको पर्सा जिल्लामा अवस्थित वीरगन्ज केवल एउटा सहर होइन, यो नेपालको आर्थिक गतिविधिको प्रमुख केन्द्र हो। ऐतिहासिक, व्यापारिक र रणनीतिक महत्व बोकेको वीरगन्जलाई नेपालको आर्थिक नगरी तथा भारतसँगको प्रमुख व्यापारिक नाकाका रूपमा चिनिन्छ। देशमा आयात हुने अधिकांश वस्तुको प्रवेश, भण्डारण र वितरण प्रक्रियामा यस सहरको विशेष भूमिका रहँदै आएको छ।

विभिन्न भाषा, समुदाय, संस्कृति र विश्वास बोकेका मानिसहरूको साझा थलो वीरगन्ज आर्थिक मात्र होइन, सामाजिक, शैक्षिक, आध्यात्मिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण सहर हो। यही ऐतिहासिक सहरका चार प्रमुख सडकहरूको संगमस्थलमा उभिएको छ वीरगन्जको घण्टाघर।

Advertisement

घण्टाघर केवल समय देखाउने संरचना होइन; यो वीरगन्जको विकास, संघर्ष, परिवर्तन र सामाजिक यात्राको जीवित इतिहास हो। दशकौँदेखि यसले सहरको व्यापारिक गतिविधि, भारतसँगको आवतजावत, सांस्कृतिक कार्यक्रम र सामाजिक परिवर्तनलाई नजिकबाट नियालिरहेको छ। परम्परागत वास्तुकला शैली झल्काउने करिब तीन तल्ले यो संरचना आकर्षक डिजाइन र ऐतिहासिक महत्वका कारण वीरगन्जको पहिचान बनेको छ।

Advertisement

स्थानीय विवरणअनुसार वीरगन्ज घण्टाघरको इतिहास वि.सं. २०३३ सालतिरबाट सुरु भएको मानिन्छ। निर्माणअघि यो स्थान खाली जग्गाका रूपमा थियो, जहाँ पेट्रोल पम्प बनाउने तयारी भइरहेको थियो। तर तत्कालीन नगर पञ्चायतका पदाधिकारी तथा जनप्रतिनिधिहरूले सहरको केन्द्रमा निजी प्रयोजनका लागि यस्तो संरचना बनाउन नहुने धारणा राखेपछि उक्त योजना रोकियो। त्यस क्रममा उक्त जग्गालाई सार्वजनिक प्रयोजनका लागि संरक्षण गर्दै ‘महेन्द्र पार्क’ नामकरण गरिएको बताइन्छ।

पछि यही स्थानमा वीरगन्ज जेसीज र जापान जेसीजको सहकार्यमा घण्टाघर निर्माण भयो। निर्माणका क्रममा जापानका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम संकलन गरी सहयोग गरेका थिए भने जापानको एक प्रतिष्ठित कम्पनीले घडी उपलब्ध गराएको थियो। स्थानीय प्रशासन, जनप्रतिनिधि र वीरगन्जवासीको सहभागितामा बनेको यो संरचना आज मित्रता, सहकार्य र विकास यात्राको प्रतीक बनेको छ।

समयसँगै घण्टाघरले संरक्षणको आवश्यकता पनि महसुस गर्‍यो। लामो समयसम्म मर्मत नहुँदा संरचनामा कमजोरी देखिन थालिएको थियो पछि वि.सं. २०७० मा वीरगन्ज महानगरपालिका र नेपाल टेलिकमबीचको सहकार्यपछि यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी नेपाल टेलिकमले लिएको थियो। वि.सं. २०७२ को भूकम्पले थप असर पुर्‍यायो। घडीसमेत लामो समय बन्द वा गलत समय देखाउने अवस्थामा पुगेको थियो।

पछिल्लो समय यसको ऐतिहासिक स्वरूप जोगाउने उद्देश्यले पुनः संरक्षण कार्य गरिएको छ।आज घण्टाघर वीरगन्जको सामाजिक, राजनीतिक र सांस्कृतिक गतिविधिको केन्द्र बनेको छ। नागरिकका आवाज, आन्दोलन, सार्वजनिक कार्यक्रम र सामाजिक संवादका लागि यो क्षेत्र महत्वपूर्ण स्थलका रूपमा स्थापित भएको छ। कुनै समय खाली सार्वजनिक जमिन रहेको स्थान अहिले वीरगन्जको ऐतिहासिक केन्द्र र पहिचानको प्रतीक बनेको छ।

घण्टाघरको कलात्मक पक्ष : कामशिल्पदेखि जीवन दर्शनसम्म
घण्टाघरको अर्को महत्वपूर्ण तर कम चर्चा भएको पक्ष यसको कलात्मक संरचना हो। पहिलो तलाका काठका केही पट्टाहरूमा देखिने कामशैलीसँग सम्बन्धित आकृतिहरू केवल सजावटका सामग्री मात्र थिएनन्; तिनमा सांस्कृतिक र दार्शनिक अर्थसमेत रहेको मानिन्छ।यी आकृतिहरूबारे समाजमा फरक-फरक धारणा पाइन्छ।

कतिपयले यसलाई अश्लीलताको रूपमा हेरे पनि हिन्दू वास्तुकला र दर्शनमा यस्ता कलात्मक अभिव्यक्तिको आफ्नै महत्व रहेको पाइन्छ।विश्वका विभिन्न हिन्दू मन्दिरहरूमा यस्ता कामशिल्पहरू पाइन्छन्। विशेषगरी भारतका खजुराहोका मन्दिर र कोणार्क सूर्य मन्दिर यस्ता कलात्मक अभिव्यक्तिका लागि प्रसिद्ध छन्। धेरै अध्येताहरूका अनुसार यस्ता शिल्पहरू केवल यौन अभिव्यक्ति वा अश्लीलताको प्रतीक होइनन्; बरु हिन्दू दर्शनमा वर्णित धर्म, अर्थ, काम र मोक्षमध्ये “काम” को व्यापक अर्थ बुझाउने माध्यम हुन्।यहाँ “काम” भन्नाले केवल शारीरिक इच्छालाई होइन, प्रेम, सिर्जना, जीवन ऊर्जा र मानवीय सम्बन्धलाई समेत जनाउँछ।

यस्ता मिथुन (प्रेमी जोडी) आकृतिलाई कतिपय अध्येताहरूले जीवात्मा र परमात्माबीचको एकताको आध्यात्मिक प्रतीकका रूपमा पनि व्याख्या गरेका छन्। मन्दिरका बाहिरी भागमा यस्ता आकृति राखिनुको अर्थ मानिसले सांसारिक मोह र आकर्षणलाई पार गर्दै आध्यात्मिक यात्रातर्फ अघि बढोस् भन्ने प्रतीकात्मक सन्देश रहेको बताइन्छ।यस दृष्टिले हेर्दा वीरगन्जको घण्टाघरमा रहेका यस्ता कलात्मक आकृतिहरू केवल सजावट होइनन्; ती मानव जीवन, प्रेम, सिर्जना र दर्शनका गहिरा अभिव्यक्ति हुन्।

आज घण्टाघर केवल ऐतिहासिक संरचना मात्र होइन, यो वीरगन्जको सामाजिक, राजनीतिक र सांस्कृतिक गतिविधिको केन्द्र बनेको छ। समयसँगै यसको भूमिका घडी राखिएको टावरबाट विस्तार हुँदै नागरिक संवाद र जनभावना अभिव्यक्त हुने सार्वजनिक स्थलसम्म पुगेको छ।आफ्ना अधिकार, माग र सरोकारका विषयमा आवाज उठाउने नागरिकहरूका लागि घण्टाघर एउटा महत्वपूर्ण प्रतीक बनेको छ।

सामाजिक आन्दोलन, सार्वजनिक कार्यक्रम र राजनीतिक गतिविधिको यो प्रत्यक्ष साक्षी रहँदै आएको छ।सहरको केन्द्रमा रहेको घण्टाघर आज पनि हजारौँ मानिसको दैनिक जीवनसँग जोडिएको छ। यसले केवल समय देखाउँदैन, समयसँगै बदलिँदै गएको वीरगन्जको कथा पनि सुनाइरहेको छ।

यति महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन आवश्यक छ। घण्टाघरलाई केवल पुरानो संरचनाका रूपमा होइन, इतिहास, कला, संस्कृति र सामाजिक परिवर्तनको जीवित दस्तावेजका रूपमा बुझ्नुपर्छ। यसको संरक्षण गर्नु भनेको वीरगन्जको पहिचान, इतिहास र सामूहिक स्मृतिको संरक्षण गर्नु हो।घण्टाघरको सामान्य हलचलले प्रधानमन्त्रि कार्यालयको ध्यानाकर्षण गर्ने नागरिक बल राखेको छ।

दिपेश कुमार कर्ण
उप-प्राध्यापक, मधेश विश्वविद्यालय
दर्शनाचार्य अध्येता, पूर्वान्चल विश्वविद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *