Categories समाचार

निकास अभावले वीरगञ्जका २०० बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा

वीरगञ्ज । लगातारको वर्षापछि पानीको उचित निकास नहुँदा वीरगञ्ज महानगरपालिकाका वडा नं. १७, २०, २४, २६ र २८ का दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन फेरि डुबानमा परेको छ। खेतबारी नै पोखरीमा परिणत भएपछि किसानको धानबाली, जनजीवन तथा सयौँ परिवारको रोजीरोटी संकटमा परेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार प्राकृतिक रूपमा बग्ने पानीको बहाव विभिन्न संरचना र अव्यवस्थित निकासका कारण अवरुद्ध हुँदा हरेक वर्ष वर्षायाममा यही समस्या दोहोरिने गरेको छ। डुबानका कारण खेतमा रोपिएको बाली नष्ट हुने, खेतीपाती प्रभावित हुने र आवतजावतसमेत कठिन बनेको उनीहरूको गुनासो छ।

Advertisement

वीरगञ्ज महानगरपालिकाले गत कात्तिक महिनामा अस्थायी नाली खनेर पानी निकास गराउने प्रयास गरे पनि त्यसले दीर्घकालीन समाधान दिन सकेको छैन। स्थायी निकासको व्यवस्था नहुँदा वर्षौंदेखि किसानहरू एउटै समस्याबाट पीडित हुँदै आएका छन्।

Advertisement

यसैबीच, प्रतिनिधिसभा सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं. २ का सांसद सुशील साह कानुले आइतबार डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै जलजमाव, अव्यवस्थित निकास प्रणाली तथा त्यसबाट जनजीवनमा परेको गम्भीर असरबारे जानकारी लिनुभएको थियो।

सांसद कानुले प्रभावित नागरिकको पीडा नजिकबाट महसुस गरेको उल्लेख गर्दै वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्याको दिगो समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीले अस्थायी उपायभन्दा स्थायी समाधान आवश्यक रहेको बताउँदै प्राकृतिक पानीको बहाव खुलाउने, प्रभावकारी ढल तथा निकास प्रणाली निर्माण गर्ने र डुबान नियन्त्रणका लागि दीर्घकालीन योजना तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

हरेक वर्ष दोहोरिने डुबानले खेतीयोग्य जमिन बाँझिने जोखिम बढ्दै गएको र किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको भन्दै स्थानीयले सम्बन्धित निकायलाई अब ढिलाइ नगरी स्थायी समाधान गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *