बारा। बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने एक बालिकाको ज्यान गएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजिन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहेकी छन्। उनी मामा घर आएका बेला आइतबार साँझ करिब ५:३० बजे घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।
घटनापछि बालिकालाई मामा घरमा ल्याइएको र साँझ ६:१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा घटनाको जानकारी पुगेको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामविध्या साहको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


