वीरगन्ज। भोजपुरी भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको नयाँ भोजपुरी गीत “चूडी जब खन खन करेलागेला” एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। वीरगन्ज पब्लिक कलेजको सभाहलमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, कलाकार तथा भोजपुरी भाषाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि भोजपुरी प्रतिष्ठान, वीरगन्जकी अध्यक्ष अनिता साहले यस्ता मौलिक भोजपुरी सिर्जनाले भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै नयाँ पुस्तालाई आफ्नै मातृभाषासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै यस्ता सिर्जनात्मक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रमको अध्यक्षता कवि तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताले गरेका थिए। विशिष्ट अतिथिका रूपमा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, भोजपुरी प्रतिष्ठान, वीरगन्जका सल्लाहकार प्रमोद पाण्डे तथा पुरुषोत्तम पाण्डेको उपस्थिति रहेको थियो।
स्थानीय गायक चन्दन पण्डितको स्वर तथा अभिनय रहेको गीतमा टिकटक स्टार निभा यादवले मुख्य कलाकारको भूमिका निर्वाह गरेकी छन्। गीतका शब्द उमालाल यादवले लेखेका हुन् भने कार्यक्रमको सञ्चालन जय यादवले गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले भोजपुरी भाषाको संरक्षण, प्रवर्द्धन र स्थानीय प्रतिभाको पहिचानका लागि यस्ता सांगीतिक सिर्जनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले आधुनिक प्रविधि र सामाजिक सञ्जालमार्फत भोजपुरी गीत–संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन युवा पुस्ताको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा पनि व्यक्त गरे।




