अमित अग्रवाल
वीरगञ्ज। त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक (मेनरोड) मा सडक विस्तार अभियान पुनः अघि बढ्ने भएको छ। सडकको केन्द्रबिन्दुदेखि दायाँ–बायाँ २५–२५ मिटर मापदण्डभित्र पर्ने बाँकी संरचनाहरू बुधबारदेखि हटाइने तयारी गरिएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गा प्रसादका अनुसार एडभान्स हस्पिटलदेखि घण्टाघर हुँदै पानीटंकीसम्म मापदण्डभित्र परेका घरटहरा, पसल तथा अन्य संरचना भत्काइनेछन्।
सडक विस्तारको काम केही दिन रोकिएको भए पनि अब पुनः सञ्चालनमा आउन लागेको हो। अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई आवश्यक तयारी गर्न र सडक मापदण्डको पालना गर्न आग्रह गरिएको छ।
सडक विस्तार सम्पन्न भएपछि वीरगञ्जको मुख्य व्यापारिक मार्गमा सवारी आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।




