Categories समाचार

गाईको मासुबारे अभिव्यक्तिपछि हर्क साम्पाङको जानकी मन्दिर प्रवेश रोक्ने घोषणा

वीरगंज । हिन्दू सम्राट सेनाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको छ। साम्पाङले सार्वजनिक रूपमा गाईको मासु खानुपर्ने आशयको अभिव्यक्ति दिएको भन्दै संगठनले त्यसको विरोधमा यस्तो निर्णय गरेको जनाएको हो।

हिन्दू सम्राट नेपालका अध्यक्ष राजेश यादवले साम्पाङले पटक–पटक हिन्दू धर्म र गाईप्रति विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दूहरूको आस्थाको केन्द्र मानिने जानकी मन्दिरमा उनको प्रवेश स्वीकार्य नहुने बताए। उनका अनुसार साम्पाङले सार्वजनिक रूपमा आफ्नो भनाइ फिर्ता लिएर क्षमायाचना नगरेसम्म मन्दिर प्रवेश गर्न दिइने छैन।

Advertisement

संगठनले साम्पाङ मन्दिर प्रवेश गर्न आए शान्तिपूर्ण रूपमा अवरोध गरिने र त्यसका लागि मन्दिर परिसरमा कार्यकर्ता परिचालन गरिने जानकारी पनि दिएको छ। धार्मिक आस्था र मन्दिरको मर्यादा जोगाउन यस्तो कदम चालिएको संगठनको दाबी छ।

Advertisement

धरानका पूर्वमेयर समेत रहेका साम्पाङले आज जनकपुर पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए। त्यसपछि हिन्दू सम्राट सेनाले उनको प्रवेश रोक्ने घोषणा गरेको हो।

यसैबीच, सम्भावित विवादलाई मध्यनजर गर्दै जानकी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समाचार तयार पार्दासम्म हर्क साम्पाङ वा उनको सचिवालयले हिन्दू सम्राट सेनाको घोषणाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *