Categories समाचार

कालिकामाई–३ का वडाध्यक्ष पटेल पक्राउ

Advertisement

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पटेललाई कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्तास्थित निवास क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

प्रहरीका अनुसार गाउँपालिकाको कार्यालयभित्रै एक कर्मचारीमाथि भएको कुटपिट घटनामा पटेलको संलग्नता देखिएपछि पक्राउ गरिएको हो। घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। आफ्नो नियमित जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका थिए।

कर्मचारीहरूको निरन्तर दबाब र आन्दोलनपछि प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *