काठमाडौं । सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल/बीजक लिने बानी विकास गराउन र कर प्रणालीलाई थप प्रभावकारी बनाउन नगद पुरस्कारसहितको नयाँ प्रोत्साहन योजना लागू गरेको छ।
अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै आन्तरिक राजस्व विभागमार्फत योजना कार्यान्वयनमा ल्याएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ बमोजिम ल्याइएको यस योजनाअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोगका लागि एक पटकमा कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता सहभागी हुन सक्नेछन्।
विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) मार्फत गरिएको खरिद स्वतः कार्यक्रममा समावेश हुनेछ। नगद वा अन्य माध्यमबाट खरिद गर्ने उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमा बीजक नम्बर, बिक्रेताको प्यान, खरिद मिति, रकम तथा आफ्नो विवरण प्रविष्ट गरेर सहभागिता जनाउनुपर्नेछ।
योजनाअन्तर्गत व्यवसायिक प्रयोजनका खरिद, सरकारी वा सार्वजनिक निकायका नाममा जारी गरिएका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारीसाधन तथा हवाई टिकटसम्बन्धी बीजक भने समावेश हुने छैनन्।
कार्यविधिअनुसार हरेक महिनाको १ र १६ गते स्वचालित विद्युतीय प्रणालीबाट विजेता छनोट गरिनेछ। प्रत्येक दिनका लागि एक जना दैनिक विजेता र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेता चयन हुने व्यवस्था गरिएको छ।
दैनिक विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ तथा बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसअनुसार प्रत्येक महिनामा दुई जना बम्पर विजेताले १०–१० लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्।
पुरस्कार रकम वितरणअघि प्रचलित कानुनअनुसार २५ प्रतिशत आकस्मिक लाभ कर कट्टा गरिनेछ। विजेताले नतिजा सार्वजनिक भएको १५ दिनभित्र सक्कल बीजक, परिचयपत्र, बैंक खाता विवरण र प्यान नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिएपछि बाँकी रकम बैंक खातामा जम्मा गरिनेछ।
निर्धारित समयभित्र पुरस्कार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। साथै, झुट्टा वा किर्ते कागजात पेश गरी पुरस्कार लिन खोजे कानुनबमोजिम कारबाही गरिने कार्यविधिमा उल्लेख गरिएको छ।




