वीरगंज । पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरेको एक भारतीय नम्बर प्लेटको कारबाट २० किलो ६८७ ग्राम गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार बिहान करिब ११ः३० बजे जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH 5496 नम्बरको भारतीय कार रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित २० किलो ६८७ ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत तालका डुम्रा–३३ निवासी ३३ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको छ। बरामद गाँजा र कारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




