वीरगञ्ज । फेक फेसबुक र मेसेन्जर आईडी बनाएर विदेशमा रहेका व्यक्तिको नाम दुरुपयोग गर्दै अनलाइन ठगी गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बारा फेटा गाउँपालिका–४ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ बस्ने शिवपुजन बैठासँग लन्डनमा रहेका संजय पटेलको नाममा फेक फेसबुक तथा मेसेन्जर आईडी बनाएर ‘म समस्यामा छु’ भन्दै विश्वास दिलाई २ लाख ५० हजार रुपैयाँ ठगी गरिएको थियो।
पीडितको उजुरीपछि गरिएको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिको नाममा बैंक खाता र सिमकार्ड सञ्चालन गरी अनलाइन ठगीमा संलग्न रहेको आरोपमा बारा प्रसौनी गाउँपालिका–१ का २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका–१ का २० वर्षीय विशाल पटेल लाई प्रहरीले साउन २ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल ले जानकारी दिएका छन्।




