Categories समाचार

‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण

वीरगञ्ज । वीरगञ्जलाई हरित र वातावरणमैत्री बनाउने उद्देश्यले ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक प्रहरी सेवाले संयुक्त रूपमा सञ्चालन गरेको ‘एक घर, एक बिरुवा अभियानअन्तर्गत हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कलेजका विद्यार्थीहरूको सक्रिय सहभागितामा विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा वृक्षारोपण गरिएको हो। कार्यक्रममार्फत प्रत्येक परिवारले कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्ने सन्देश दिइएको आयोजकले जनाएको छ।

Advertisement

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्कीलगायतको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष खेतानले वातावरण संरक्षणलाई व्यवहारमै लागू गर्न यस्ता अभियान आवश्यक रहेको बताउनुभयो। उहाँले बिरुवा रोप्ने मात्र नभई त्यसको नियमित संरक्षण गर्न पनि सबैलाई आग्रह गर्नुभयो।

प्रमुख अतिथि देविसहाय मीणाले वातावरण संरक्षणका यस्ता अभियानले समाजमा सकारात्मक चेतना फैलाउने उल्लेख गर्दै युवा पुस्ताले हरियाली विस्तारमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

अन्य वक्ताहरूले पनि स्वच्छ वातावरण, हरित शहर निर्माण तथा समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

आयोजकका अनुसार कार्यक्रमको समापनमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी बिरुवा वितरण गरिएको थियो भने कलेज परिसरमा सामूहिक वृक्षारोपणसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *