जनकपुर । मधेश प्रदेशमा लागूऔषध कारोबार नियन्त्रण, अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल २०८३ साल असार महिनाका ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम प्रहरी निरीक्षक मल्ललाई उत्कृष्ट प्रहरी छनोट गरेको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले उनलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका छन्।
प्रहरी निरीक्षक मल्लले आफ्नो कार्यक्षेत्रमा लागूऔषध कारोबारविरुद्ध निरन्तर र साहसिक अभियान सञ्चालन गर्दै अवैध ओसारपसार तथा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका छन्। त्यससँगै शान्ति–सुरक्षा सुदृढ बनाउने, कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउने कार्यमा उनले खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ।
मधेश प्रदेश प्रहरीका अनुसार उत्कृष्ट कार्यसम्पादन, कर्तव्यनिष्ठा, नेतृत्व क्षमता तथा जनमुखी प्रहरी सेवामा पुर्याएको योगदानका आधारमा प्रहरी निरीक्षक मल्ललाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो।


