Categories समाचार

प्रहरीले माई टिभीलाई पत्र काटेपछि पत्रकार महासंघ पर्साको आपत्ति

Advertisement

वीरगंज। नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्साले माई टिभीलाई समाचारको विषयमा तथ्य पेश गर्न पत्र काटेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा वीरगंज महानगरपालिका–३१ सम्बन्धी समाचारलाई लिएर वडा अध्यक्षको उजुरीका आधारमा प्रहरीले सञ्चारमाध्यमलाई पत्र काट्नु प्रचलित कानूनी व्यवस्था र स्थापित पत्रकारिता अभ्याससँग मेल नखाने उल्लेख गरेको छ।

Advertisement

महासंघका अनुसार कुनै समाचारप्रति असहमति वा गुनासो भएमा सम्बन्धित सञ्चारमाध्यममा खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने तथा त्यसबाट पनि चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने स्पष्ट कानूनी व्यवस्था छ। यस्तो अवस्थामा उक्त प्रक्रिया अवलम्बन नगरी प्रहरीमार्फत सञ्चारमाध्यमलाई पत्र पठाइनुले प्रेसमाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने उद्देश्य देखिएको महासंघको ठहर छ।

Advertisement

महासंघले संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिताको अभ्यासमा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप हुने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने जनाएको छ।

विज्ञप्तिमार्फत महासंघले सञ्चारसम्बन्धी विवादमा कानुनले तोकेको प्रक्रिया र अधिकारप्राप्त निकायमार्फत मात्रै अघि बढ्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने गतिविधि दोहोरिए नेपाल पत्रकार महासंघ पर्सा स्वतन्त्र प्रेसको रक्षा र पत्रकारको पेशागत अधिकार संरक्षणका लागि संघर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *