Categories समाचार

ब्राउन हेरोइनसहित ७२ वर्षीय वृद्ध पक्राउ, पुराना कारोबारीको नाम लेखिएको कागज पनि बरामद

वीरगञ्ज । पर्सा प्रहरीले २१.९१ ग्राम ब्राउन हेरोइन (खैरो हेरोइन) जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको खल्तीबाट लागूऔषधका पुराना कारोबारीको नाम उल्लेख गरिएको कागजसमेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा हिजो दिउँसो करिब ४:२० बजे वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित बहिरङ्ग विद्यालय अगाडिको सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

Advertisement

खानतलासीका क्रममा उनको पाइन्टको दाहिने खल्तीबाट १५ वटा साना कागजी पुडियामा प्याक गरिएको कागजसहित ४०.७४ ग्राम तथा कागजबाहेक २१.९१ ग्राम ब्राउन हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

त्यसै क्रममा पाइन्टको बायाँ खल्तीबाट एउटा कागज फेला परेको थियो। उक्त कागजमा “अवैध लागूऔषध ब्राउन सुगरका पुराना कारोबारीहरू जहिर मियाँ र इम्तियाज मियाँ – ५ हजार मिलिग्राम” भन्ने विवरण उल्लेख रहेको प्रहरीको विज्ञप्तिमा जनाइएको छ।

पक्राउ पर्ने व्यक्ति वीरगञ्ज महानगरपालिका–१२ मुरलीचोक निवासी ७२ वर्षीय नारायणबहादुर केसी रहेका छन्। प्रहरीले बरामद लागूऔषधसहित केसीलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले बरामद कागजमा केही व्यक्तिको नाम उल्लेख भएको जनाएको भए पनि त्यसले मात्र उनीहरू कसुरदार भएको पुष्टि गर्दैन। उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको विषय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *