वीरगञ्ज । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अरबिन्द साहविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक तथा चेतावनीपूर्ण पोस्ट गरेका बारा निवासी निजामुद्दिन अन्सारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार सांसद् साहले बुधबार दिएको उजुरीका आधारमा अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको हो। उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने आज अदालतमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।
एसपी कुँवरले घृणा, द्वेष वा अफवाह फैलाउने प्रकृतिका गतिविधि विद्युतीय कारोबार ऐनले निषेध गरेको उल्लेख गर्दै प्राप्त उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार कसुरको प्रकृति मूल्याङ्कन गर्दै थप अनुसन्धान गरिनेछ।
अन्सारीले फेसबुकमार्फत सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै विभिन्न पोस्ट गरेका थिए। ती पोस्टमध्ये एउटामा उनले सांसद् साहलाई भेटेको स्थानमै कालो मसी दल्ने चेतावनी दिएका थिए भने अर्को पोस्टमा पनि घोषणापत्रअनुसार काम नगरे कालो मसी दलेर काठमाडौं फर्काइने उल्लेख गरेका थिए।
अन्सारी निकट स्रोतका अनुसार उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरे पनि सांसद् साह निर्वाचन क्षेत्रमा पुगेका बेला कुनै भौतिक विरोध प्रदर्शन वा अवाञ्छित गतिविधिमा सहभागी भएका थिएनन्। स्रोतले नेपाली उनको पहिलो भाषा नभएकाले पोस्टको भाषा आक्रामक देखिएको हुन सक्ने दाबी गर्दै केवल सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठाएको छ।


